अब परीक्षाको फाराम अनलाइनबाटै, फेल भएपनि स्टार चिह्न नराख्ने - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

अब परीक्षाको फाराम अनलाइनबाटै, फेल भएपनि स्टार चिह्न नराख्ने



काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अबदेखि स्नातक तह प्रथम वर्षको परीक्षा फाराम विद्यार्थीले अनलाइनमार्फत भर्ने व्यवस्था गर्न थालेको छ । त्रिविले अब परीक्षा हुने स्नातक तह प्रथम वर्षको परीक्षाको फाराम अनलाइनमार्फत् भर्ने व्यवस्था थालेको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका हुन् ।

“हामीले अब परीक्षा दिने स्नातक तह प्रथम वर्षका विद्यार्थीको परीक्षा फाराम अनलाइनमार्फत भर्ने व्यवस्था गरेका छौँ”, उनले भने, “अहिले पढिरहेका स्नातक तह प्रथमका सबै विद्यार्थीले फारम अनलाइनमार्फत् भर्ने छन् ।” अहिले क्याम्पसले नै भरिदिने व्यवस्था गरेको अनलाइन फारामपछि विद्यार्थीले आफैले नै भर्नसक्ने छन् । यसरी विद्यार्थीले अनलाइनमार्फत् भरेका परीक्षा फारामको प्रवेश पत्र आफैँले नै प्रिन्ट गरेर लिन पाउने उनले बताए। यसैगरी त्रिविले अबदेखि फोटोसहितको रजिष्ट्रेशन स्लिप लागू गर्ने भएको छ ।

परीक्षा नियन्त्रक जोशीले अब नयाँ रजिष्ट्रेशन स्लिप लिने विद्यार्थीले फोटोसहितको हुने बताए । “हामीले अबदेखि अनलाइनमार्फत् भरेको फाराममा रहेको प्रवेशपत्र प्रिन्ट गरेर परीक्षामा सहभागी हुन पाउने व्यवस्था गर्दैछौँ”, उनले भने “उक्त प्रवेशपत्र फोटोसहितको रजिष्ट्रेशन स्लिप अनिवार्य लैजानु पर्दछ ।”

यसैगरी पनिकाले विद्यार्थीको लब्धाङ्क पत्र (मार्कसिट) क्याम्पस आफैँले प्रिन्ट गरेर दिन सक्ने व्यवस्था गर्न थालेको छ । नयाँ वर्षदेखि लागू हुने गरी स्नातक तह प्रथम वर्षका विद्यार्थीलाई क्याम्पसले आफैँले प्रिन्ट गरेर मार्कसिट दिने व्यवस्था गर्न थालेको परीक्षा नियन्त्रक जोशीले बताए ।

यसैगरी त्रिविले अबदेखि ट्रान्सक्रिप्टमा अनुत्तीर्ण भएको विषयमा तारा (स्टार) चिह्न नराख्ने भएको छ । त्रिवि प्राज्ञिक परिषद्ले अनुत्तिर्ण भएको विषयसहितको ट्रान्सक्रिप्टमा स्टार चिह्न नराख्ने निर्णय गरेसँगै स्नातक तह प्रथम वर्षका विद्यार्थीले यो सुविधा पाउने भएका छन् । ट्रान्सक्रिप्टमा तारा चिह्न राख्दा नराम्रो देखिने भएकाले त्यसलाई हटाउन थालेको जोशीले बताए ।