सभापति देउवालाई गुट छाडेर काँग्रेसको शाख जोगाउन आग्रह - Himal Post Himal Post
  • १ माघ २०८१, मंगलवार
  •      Tue Jan 14 2025
Logo

सभापति देउवालाई गुट छाडेर काँग्रेसको शाख जोगाउन आग्रह



कर्ण अधिकारी,नुवाकोट।

नेपाली काँग्रेसका पार्टी सभापति शेर बहादुर देउवाको नाम यति खेर काँग्रेस र काँग्रेसी जनहरूको मुख मुखमा आईरहन्छ।कसैले देउवा राम्रो भन्छन् त कोही देउवाले पार्टी डुबाए भन्दै कुर्ली रहन्छन्। खैर आखिर जे भए पनि महोदयको नाम चर्चाको शिखरमा नै छ। नेपाली काँग्रेसको केन्द्र देखि स्थानीय तह सम्मको गुट बन्दीका कारण काँग्रेसले २०७४ सालको प्रदेश र प्रतिनिधि सभा चुनावमा भोगेको हारको परिणामलाई भुलेर अझै पार्टी भित्र पानी बारा बारको स्थितिमा पुराउनुलाई राम्रो मान्न सकिदैन्। काँग्रेसका शीर्ष नेताहरूको भिजन नहुनु र गुटगत राजनीतिमै रमाउने प्रवृत्तिका कारण केपी ओलीले भने झैँ काँग्रेस कठै बराको स्थितिमा पुगेको छ।

काँग्रेसका शीर्ष नेताहरूकै कारण काँग्रेसको दुर्गतिका दिन सुरु भएको हो।सार्वजनिक स्थलमा कुन कुरा बोल्ने कुन कुरा नबोल्ने भन्ने विषयमा ख्याल गर्दैनन्। पार्टीका केन्द्रीय नेता बोली रहँदा काँग्रेस बोलेको हुँ भन्ने ख्याल गर्ने की नगर्ने ? मनमा जे आयो त्यही बोल्छन्। सबैलाई पदकै लोभ छ।आफ्ना आफन्त र आसे पासेलाई राम्रो गर्ने बारे मात्रै चिन्तित भई रहन्छन्।नेपाली काँग्रेसका शीर्ष नेताहरू शेर बहादुर देउवा , रामचन्द्र पौडेल,कृष्ण सिटौला,शशाङ्क कोइराला,प्रकाश मान सिंह लगायतका नेताहरूले व्यक्तिगत र गुटगत स्वार्थबाट माथि उठेर पार्टी संरचनालाई सुधार गरेर अगाडी बढ्न सक्यो भने काँग्रेस पुरानै शाँख सहित पुरानै लयमा फर्किन सक्ने छ।काँग्रेस भित्र टिम वर्कमा काम हुन जरुरी छ। जसरी फुटबलमा टिमका ११ जना खेलाडीको गहन भूमिका हुन्छ त्यसरी नै काँग्रेसका नेता देखि कार्यकर्ता सम्म टिमवर्कमा काम हुन जरुरी छ।

काँग्रेसलाई देउवाले मात्रै डुबाएका होइनन काँग्रेस डुब्नु र डुबाउनुमा राम चन्द्र पौडेल, शशाङ्क कोइराला, कृष्ण सिटौला र प्रकाशमान पनि त्यति नै जिम्मेवार छन्। पार्टी सभापति भएका कारण देउवाले अलि बढी भार बोक्नै पर्छ तर अरू नेताहरू भने त्यतिकै पन्छिन मिल्दैन। यी सबै शीर्ष नेताहरूको शरीरको तौल र उमेरमा केही घटबढ होला तर बुद्धि र बिचार चाहिँ एकै छन्। सबै गुटका राजनीति गर्छन्। ती गुटहरूका पनि उपगुट हुन्छ।भातृ संस्थाको चुनावमा त काटमारको स्थिति नै सृजित गर्छन्। १३ औँ महाधिवेशनको माहौललाई अवलोकन गर्ने हो भने पनि हामी प्रस्ट हुनेछौ।

काँग्रेसलाई अन्धकारको भुमरीमा हुत्त्याउने त पूर्व सभापति गिरिजा बाबु नै हुन।उहाँ नै हो गुटबन्दीको महा नायक ।उहाँले नै हो देउवालाई पाखा लगाएर पानी बाराबारको स्थितिमा पुराएको। जब सम्म काँग्रेस भित्र गुटबन्दीको सीमित लगाम हुँदैन तब सम्म काँग्रेस उँभो लाग्ने लक्षण देखिँदैन।काँग्रेस २०७४ मा बाम गठबन्धनले मात्र हारेको होइन त्यसका मुख्य सुत्राधार काँग्रेसका नेताहरू नै हुन। राम्रालाई भन्दा हाम्रालाई टिकट बाँड्ने र वर्षको ३६४ दिन काँग्रेस बन्ने र चुनावको एक दिन चाहिँ रीसिइबीका कारण अरू दलकालाई मतदान गर्ने प्रवृत्तिले काँग्रेस हारेको हो। भर्खरै सम्पन्न बारको चुनावमा लोक तान्त्रिक समूहको हार हुनुको कारण पनि यही नै हो।उद्योग वाणिज्य सङ्घको चुनावमा पनि त्यही स्थिति सृजित हुनेछ। आफ्नाबाट आफ्नैलाई घात हुने छ।

त्यसै गरी नेपाली काँग्रेसका जिल्ला सभापतिहरू पनि गुटगत राजनीतिमा व्यस्त छन्। अधिकांशले सभापति देउवा विरुद्ध आवाज उठाई रहनु भएको अवस्थामा जिल्ला सभापति हरूलाई मेरो प्रश्न पार्टीका हितका लागि किन जिल्लामा राम्रो कार्यक्रम ल्याउन सक्नु भएन ? कार्यकर्तालाई प्रशिक्षण खोइ ? खै त सङ्गठनमा गतिशीलता ? खै त कार्यकर्तामा समान व्यवहार ? आफ्नालाई काखा अनि अरूलाई किन पाखा ? गुटगत राजनीति कहिले सम्म ? पार्टीका हितका लागि के छ गुरु योजना ? काँग्रेस र काँग्रेसी बिचको माया र सद्भाव खै ? गाउँ नगर र सहरका कार्यकर्ता बिच गुटको राजनीति गर्दै एक आपसमा बैमन्सयता किन ? यस्ता अनेकौँ प्रश्नहरू छन् । तपाईहरू पहिले आफू ठिक रहनु होस अनि अरू माथि औला ठड्याउनु होला ! हिजो देउवालाई तेह्रौ महाधिवेशनमा बहुमतले जिताउने तपाईहरू नै होइन ! आज के को ल्याङ् ल्याङ सकिन्छ राम्रो गरौँ सकिँदैन नराम्रो पनि नगरौँ।जिल्ला भरी काँग्रेस बलियो भए देश भरीका काँग्रेसी बलियो हुन्छन् भन्ने कुरा नभूलौ।

पार्टी सभापति देउवाको हठको विषयमा पनि केही लेखौँ।सभापति देउवाले काँग्रेसका अन्य नेताहरूलाई गन्दै नगन्नु र बिचार विमर्श नलिनुका कारण पनि यिनी विवादमा तानिन्छन्।केन्द्रीय कमिटीका पदाधिकारीहरूको भावनालाई अवलम्बन गर्न नसक्नु र आफ्ना मात हातका मान्छेका कुरा सुन्नुले पनि देउवालाई बक्तिगत रूपमा घाटा पुगेकै हो।यिनका समिति मान्छेहरूको विश्वास गर्नाले पनि पार्टी भित्र लोक प्रिय हुनुको साटोमा अलोक प्रिय चाहिँ भई रहेका छन्।

पार्टी र सङ्गठनमा व्यक्तिगत बिचार प्रस्तुत गरी अगाडी बढ्नुको साटोमा सामूहिक निर्णयबाट अगाडी बढ्दा राम्रो हुने थियो।अर्को तर्फ काँग्रेस पछाडि पर्नुमा कार्यकर्ता पनि त्यतिकै जिम्मेवार पनि छन्।कार्यकर्ताले खबरदारी गर्न नसक्दा नेताहरू फुक्का राँगो जस्तै भए तसर्थ यस्तो अवस्थामा नेताहरूलाई लगाम लगाउने काम कार्यकर्ताको पनि हो।असल कार्यकर्ताले नेतालाई भन्दा पार्टीलाई माहान ठान्न सक्नु पर्दछ।भोलिका दिनमा नेता फेरिएला तर सच्चा कार्यकर्ताले पार्टी फेर्न चाहँदैनन्।

म नेपाली काँग्रेसको क्रियाशील सदस्यको हैसियतमा पार्टी सभापतिलाई ध्यानाकर्षण गराउँदै आफूले पनि गुटगत राजनीति नगर्ने र अरूलाई पनि गर्न नदिने माहौल सृजना गर्नु होस भन्न चाहन्छु।काँग्रेस लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएका कारण पार्टी भित्र आफ्ना बिचारहरू राख्न पाइन्छ तर राख्नको लागि पनि निश्चित परिधिको रेखा चित्रित गरी दिए काँग्रेस गुटबन्दीको दल दलमा फस्ने थिएन।विपीको समाजवादका आदर्शलाई जोगाउन काँग्रेसीहरू परिवर्तित भएर अगाडी बढ्न जरुरी छ।समाज देश बदल्न चाहनु हुन्छ भने सबै भन्दा पहिला सकारात्मक सोच लिएर आफैबाट सुरुवाती गर्न जरुरी छ।