देउवामुक्त कांग्रेस बनाउने यस्तो छ गोप्य तयारी - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

देउवामुक्त कांग्रेस बनाउने यस्तो छ गोप्य तयारी



पार्टी सभापति शेरबहादुर देउवालाई पद छाड्न दवाव दिने रणनीतिसहित कांग्रेसका ५१ जिल्ला सभापति काठमाडौंमा भेला भएका छन्।

महासमितिले अनुमोदन गरेको निर्णय केन्द्रीय कार्यसमितिले उल्ट्याएपछि असन्तुष्ट बनेका जिल्ला सभापति काठमाडौँमा भेला भएका हुन्। भेलामा सहभागि भएका सबै सभापति कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधर भएका कांग्रेस श्रोतले जनाएको छ।

बुधबारबाट सुरु भएको भेला बिहीबार साँझसम्म चल्ने छ।

केन्द्रीय सदस्य महाधिवेशन प्रतिनिधिका लागि तल्लो बुथबाटै चुनिनुपर्ने र समानुपातिकमा एकै व्यक्तिको उम्मेदवारी नदोहोर्‍याउने गरी महासमितिमा जुटेको सहमति केन्द्रीय समितिले उल्टाएपछि उनीहरु सभापति देउवाप्रति रुष्ठ बनेका हुन्।

काठमाडौंका क्षेत्रपाटीस्थित होटेल काठमाडौंमा भेला चलिरहेको छ।

सभापति शेरबहादुर देउवाकै चाहनामा महासमितिको निर्णय उल्ट्याइएको उनीहरूको दाबी छ। कांग्रेसका नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले पार्टीमा संगठन सुदृढीकरण र अनुशासन स्थापित गर्न बैठक बोलाइएको बताए।

तर देशभरीका ५१ जिल्ला सभापतिहरूको भेलाप्रति कांग्रेस केन्द्रीय कार्यालयले भने अनभिज्ञता जनाएको छ।

केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भेलाबारे पार्टीलाई जानकारी नभएको दाबी गरे।