सहकारी दिवसका अवसरमा शुभकामना आदानप्रदान - Himal Post Himal Post
  • २ श्रावण २०८३, शनिबार
  •      Sat Jul 18 2026
Logo

सहकारी दिवसका अवसरमा शुभकामना आदानप्रदान



विशाल पाण्डेय / घोडाघोडी ,कैलाली ।
“दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मुल नारा सहित बुधबार देशभरका विभिन्न सहकारीहरुले ६२ औं राष्ट्रिय सहकारी दिवस विविध कार्यक्रम गरि मनाएका छन् । यसै क्रममा कैलालीको घोडाघोडी नगरपालिका -१ सुखडमा रहेको घोडाघोडी कृषि सहकारी संस्था लि. ले पनि ६२ औं राष्ट्रिय सहकारी दिवस अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम बुधबार सम्पन्न गरेको छ ।

घोडाघोडी कृषि सहकारी संस्थाका अध्यक्ष डिल्ली प्रसाद कंडेलको सभापतित्वमा सम्पन्न भएको शुभकामना आदानप्रदान कार्यक्रमको प्रमुख अथिती घोडाघोडी नगरपालिकाका नगर प्रमुख ममता प्रसाद चौधरी रहनु भएको थियो ।

प्रमुख अथितिको आसनबाट बोल्दै नगर प्रमुख चौधरीले बिकास र समृद्धिको सुरुवात नै सहकारीबाट भएको बताउनु भएको छ । सरकार ,निजि क्षेत्र र सहकारी मिलेर मात्र देश समृद्धि हुने बताउदै नगर प्रमुख चौधरीले सहकारी देशको खम्बाको रुपमा रहेको बताउनु भयो । उहाँले सहकारीले कृषिमा रुपान्तरण गरि कृषिमा विकास गर्ने र कृषिकै माध्यमबाट आफ्ना शेयर सदस्यहरुलाइ जीवन यापनमा सहजता तथा व्यवसाय तर्फ प्रबर्द्धन गर्न तिर अग्रसर हुन पर्ने बताउनु भयो ।

नगर प्रमुख चौधरीले पछिल्लो समय विभिन्न सहकारीहरु संस्थागत हुन नसक्ने र कार्यालय व्यवस्थापन गर्न समेत कठिनाइ भएर बन्द गर्नुपर्ने अवस्था आएपनी आगामी दिनमा भने नगरपालिकाले सबै सहकारीहरुलाइ आफुले सकेसम्म सपोर्ट गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘आगामी दिनमा संस्थागत हुन नसक्ने र कार्यालय व्यवस्था गर्न नसक्ने सहकारीहरुलाइ कार्यालय व्यवस्थापन , तालिम ,कम्प्युटर लगाएतका उपकरणहरुको सपोर्ट गर्छौं ।” साथै नगरपालिकाले सहकारी सम्बन्धि नीति नियम बनाइएको समेत जानकारी दिदै नगर प्रमुख चौधरीले नगरपालिका भित्र रहेका सम्पुर्ण सहकारीहरुको अनुगमन र रिपोर्ट लिइरहेको समेत बताउनु भयो ।

सहकारीका शेयर सदस्य रमाकान्त पौडेलको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रममा घोडाघोडी नगरपालिकाका सहकारी शाखा प्रमुख कृष्ण बिष्ट ,घोडाघोडी क्याम्पसका अनुसन्धान विभाग प्रमुख पुष्पराज जोशी , घोडाघोडी अस्पतालका अध्यक्ष बिष्णु सापकोटा , पत्रकार तथा सहकारी संस्थाका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थाका सदस्य ओम आचार्यले संचालन गर्नुभएको कार्यक्रममा नयाँ बर्ष २०७६ सालको पनि शुभकामना आदानप्रदान गरिएको थियो । घोडाघोडी कृषि सहकारी संस्था लि. २०७२ सालमा स्थापना भएको थियो ।