चित्रबहादुरले भने : यो विधेयक तत्काल खारेज गर्नुपर्छ - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

चित्रबहादुरले भने : यो विधेयक तत्काल खारेज गर्नुपर्छ



राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा विचाराधीन नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएका छन्।

नागरिकता ऐन संशोधन विधेयक–२०७५ विरुद्ध संघर्ष समन्वय समितिको आयोजनामा मंगलबार काठमाडौंमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष केसीले विधेयकमा विदेशीहरुलाई नेपाली नागरिकता दिन खुकुलो व्यवस्था गरेको भन्दै उक्त विधेयक फिर्ता लिन सरकारसँग माग गरे।

‘यो विधेयक ऐन बने लाखौंलाख विदेशीले नेपाली नागरिकता लिनेछन् र नेपालले सिक्किम र फिजीको दुर्दशा भोग्नुपर्नेछ’ केसीले भने, ‘नेपालमा जन्मेका विदेशीका सन्तानले पनि बंशजको नागरिकता पाउनेछन्। अंगिकृत नागरिकहरुलाई राष्ट्रपति, प्रधानमन्त्री, सुरक्षा निकायका प्रमुख जस्ता मुख्य पदहरुमा विराजमान गराउन ढोका खुल्नेछ। त्यसपछि नेपालको राष्ट्रियता र सार्वभौमिकता कहाँ पुग्नेछ?’

अध्यक्ष केसीले नागरिकता विधेयक नेपालमा नेपालीलाई नै अल्पमतमा पार्ने षडयन्त्र अनुरुप ल्याइएको दाबी पनि गरे।

संघर्ष समितिले चैत १० गतेदेखि देशव्यापी रुपमा हस्ताक्षर संकलन पर्चा वितरण, सांसदहरुलाई ध्यानाकर्षणलगायतका विरोधका कार्यक्रम गर्दै चैत १९ गते विज्ञहरुको सहभागितामा सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा पूर्व सचिव द्वारिकानाथ ढुंगेल, सीमाविद् बुद्धिनारायण श्रेष्ठ नेकपा मालेका नेता सीपी मैनाली लगायत सहभागी थिए। उनीहरुले विधेयकमा भएका राष्ट्रघाती पक्षहरुको व्याख्या गरेका थिए।
समितिले चैत २४ गते माइतीघर मण्डलामा विधेयकको भण्डाफोर गर्ने जनाएको छ।