जहाज चार्टर गरी गर्भवतीको उद्धार - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

जहाज चार्टर गरी गर्भवतीको उद्धार



बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका- ३ की ४० वर्षीया गर्भवती सेतु लुहारको जहाज चार्टर गरी उद्धार गरिएको छ।उनलाई कोल्टिबाट नेपालगञ्ज उपचारका लागि सीता एयरको जहाजमार्फत पठाएको सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत रमेश कुवरले बताए।

उपचारका लागि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएकी लुहारलाई कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भब नभएपछि नेपालगञ्ज रिफर गरिएको थियो। कोल्टि विमानस्थलमा जहाज नभएपछि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जहाज चार्टर गरेर बिरामीको उद्धार गरेको रमेश कुवरले बताए।

५ महिनाको गर्भवती रहेकी सेतु लुवारको उच्च रक्तचाप र फोक्सोमा पानी भरिएको थियो। अवस्था निकै जोखिम भएकाले कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि उनलाई नेपालगञ्ज रिफर गरिएको स्वास्थ्यकर्मीले बताए।

अवस्था जटिल भएपछि तत्काल सामाजिक विकास मन्त्री कृष्ण राज सुबेदीसँग सल्लाह गरेर उहाँकै निर्देशनमा २ लाखमा सिता एयरको जहाज चार्टर गरेर नेपालगञ्ज पठाइएको जनस्वास्थ्य अधिकृत कुवरले जानकारी दिए।

सेतुले यो भन्दा पहिला ४ छोरीलाई जन्म दिएकी छन्।उनी पाँचौ पटक गर्भवती हुँदा स्वास्थ्यमा जटिलता आएको हो। सामाजिक विकास मन्त्रालयले यो भन्दा पहिला बाजुराबाट दुईजना सुत्केरी र एकजना बिरामीको हेलिकोप्टरमार्फत उद्धार गरेको थियो।

यो आर्थिक वर्षमा मात्र हवाई सेवामार्फत चारजनाको उद्धार गरिसकेको सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले जानकारी दिए।