प्रचण्डले भने : शान्ति सम्झौता र संविधान निर्माण मैले गरेका अपराध हुन् ?
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सरकारले ‘नो इन्भेस्टिगेसन’ जारी नगरेको भए आफूलाई जे पनि हुन सक्ने बताएका छन् ।
पत्नी सीताको अमेरिकी अस्पतालमा उपचार गरेर बिहीबार स्वदेश फर्किएका प्रचण्डले आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अमेरिकामा आफूले तीतो अनुभव गरेको बताए । प्रचण्डविरूद्ध अमेरिकामा तिलक श्रेष्ठले उजुरी हालेका थिए ।
‘अमेरिकी सरकारले नो इन्भेस्टिगेसन जारी नगरेको त मलाई त्यहाँ जे पनि हुने रहेछ । केही मानिसले मलाई प्रचण्ड हत्यारा हो अपराधी हो भनेर त्यतै जेल हाल्ने योजना रहेछ,’ प्रचण्डले भने, ‘के मैले शान्ति सम्झौता गरेर अपराध गरें । संविधान निर्माणको नेतृत्व गरेर र देशलाई एकतावद्ध गरेर मैले के अपराध गरे ?’
उनले अमेरिकास्थित नेपाली कांग्रेसको प्रवासी संगठनले निर्णय नै गरेर आफूविरूद्ध उजुरी हालेकाले त्यतातिर ध्यान दिन प्रमुख प्रतीपक्षी कांग्रेसको ध्यानाकर्षण गराए ।
‘यस्ता मानिसहरू कसलाई प्रहार गर्दा अहिलेको परिवर्तन उल्ट्याउन सकिन्छ भन्नेमा लागेका हुन्छन्,’ प्रचण्डले भने, ‘ शान्ति सम्झौताको हस्ताक्षरकर्तालाई प्रहार गर्दा त्यो सजिलो हुन्छ भन्ने उनीहरूको बुझाइ हुन्छ । त्यो एउटा प्रवृत्ति हो । हामीले त्यस्तालाई रोक्नुपर्छ ।’
कांग्रेसको वाशिंगटन डिसी कमिटीले समेत आफूलाई गिरफ्तार गर्नुपर्छ भनेर निर्णय गरेको आफूले सुनेको भन्दै उनले कांग्रेसको ध्यानाकर्षण समेत गराएका छन् ।
कार्यक्रममा मञ्चमा रहेका कांग्रेस नेता डा. रामशरण महततर्फ हेर्दै प्रचण्डले भने, ‘म वाशिंगटन डिसीमा बस्दै गर्दा त्यहाँको कांग्रेसको कमिटीले निर्णय गरेर प्रचण्ड एउटा अपराधी हो, हत्यारो हो र यसलाई गिरफ्तार गर्नुपर्छ भनेर कमिटीले निर्णय गर्यो भनेर बाहिर आयो ।’
अगाडि भने, ‘विदेशमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा र त्यसको हस्ताक्षरकर्तालाई अपराधीको रुपमा गिरफ्तार गरेर जेल हाल्नुपर्यो भनेर अन्तर्रा्ष्ट्रिय जगतलाई भन्नु कति तर्कसंगत छ ? यसले आजको हाम्रो राष्ट्रिय आवश्यकतालाई कत्तिको सम्बोधन गरेको छ ? मैले आज नजिकबाट यो तितो भर्खरै अमेरिका जाँदा अनुभव गरेर आएँ ।’
तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डले तत्कालीन प्रधानमन्त्री एवम् कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको पहलकदमीमा आफूले शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गरे ।
युद्ध अपराधको आरोपमा आफूलाई पक्राउ गराउने कोशिस भएपनि आफूलाई त्यसबाट कत्ति पनि डर नलागेको सुनाए । ‘कतिपय मान्छेहरुले त्यो कुराबाट प्रचण्ड डराएको हो कि भनेजस्तो ठान्छन् तर मलाई कुनै डर छैन अब,’ उनले भने, ‘किनकी शान्ति सम्झौता भएको छ, संविधान बनेको छ, देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको छ, निर्वाचन भएको छ, अब देश समृद्धितिर जाँदैछ । मलाई व्यक्तिगत रुपले न कुनै डर, लोभ पनि अहिले मलाई त्यस्तो छैन् ।’
प्रचण्डलाई अपराधी भन्ने हो भने प्रकारान्तरले कांग्रेस पनि अपराधी हुने उनले बताए । प्रचण्डले भने, ‘साँच्चै कमिटीले निर्णय गरेको हो र त्यो कांग्रेसकै हो भने उनीहरुले प्रचण्डलाई अपराधी भनेको त प्रकारान्तरले त कांग्रेसलाई पनि अपराधी भनेकै हुन्छ । गिरिजाप्रसाद कोइराला जो हामीबीच हुनुहुन्न, उहाँहरुले पनि हस्ताक्षर गर्नु भएको छ । यति कुरा पनि नबुझ्ने हो त ?’