बास्कोटाले भने : मिडियाले आतंक मच्चाए ! - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

बास्कोटाले भने : मिडियाले आतंक मच्चाए !



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले वर्तमान सरकारलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना नगर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लबको २१ औ वार्षिकोत्सवका अवसरमा राजधानीमा आज आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको भन्दै स्वतन्त्रताको नाममा वर्तमान सरकारलाई ज्ञानेन्द्र शाहसँग तलुना नगर्न आग्रह गरेका हुन् ।

सरकारले प्रेस स्वतन्त्रता कुनै पनि अवस्थामा अपहरित हुन नदिने प्रतिवद्धता पनि उनले व्यक्त गरे । उनले भने, “प्रेस स्वतन्त्रताको बारेमा स्पष्ट भए हुन्छ । स्वतन्त्रता अपहरित हुँदैन । ज्ञानेन्द्रसँग तुलना नगर्नु होला । ज्ञानेन्द्रको पृष्ठभूमि र अहिले सरकार चलाइरहेको पार्टीको पृष्ठभूमि, निष्ठा, लक्ष्य, उद्देश्य, लोकतान्त्रिक आन्दोलन, प्रजातान्त्रिक आन्दोलन र देशभक्तिपूर्ण आन्दोलन र जनताको नागरिक आन्दोलनको लागि बिल्कुल भिन्न पृष्ठभूमि हो । कसैले जनताको अधिकार खोस्यो, कसैले जनताको अधिकारका निम्ति सँगसँगै लडेर आएको छ । सधै यो कुरा किन उठाउनुहुन्छ ? मलाई अच्चम लाग्छ ।”

उनले स्वतन्त्रताको नाममा पछिल्लो समय मिडिया आतंक देखिने गरेको टिप्पणी गरे । उनले भने, “प्रतिष्ठित पत्रकारहरु, वास्तविक पत्रकारहरु अहिले लज्जित हुँदैछन् । रुलिङ पार्टीको अध्यक्ष पुष्पकमल दाहालको अमेरिका भिजिटमा के–केसम्म समाचार छाप्नुभयो ? आफ्नो समाचार हरेर उहाँलाई यहाँ देख्दा आफैंलाई लाज लाग्दैन अहिले के लेखियो भनेर ? आफ्नो धोती फुस्केको थाहा छैन, सरकारमाथि ख्याउँख्याउँ !”

नियमन र नियन्त्रण फरक विषय भएको भन्दै उनले आलोचना र विश्लेषण गर्नुभन्दा पहिले सरकारले ल्याएका सबै नीति, कार्यक्रम र योजनाहरु पढ्न आग्रह गरे । सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका बारेमा आएका टिप्पणीप्रति पनि उनले आक्रोश पोखे ।

उनले भने, “कसले फेसबुकमा प्रतिबन्ध लगाउने भन्या छ ? कसले टुईटरमा लगाउने भन्या छ ? पैसा चाहिँ तिर्नुपर्छ कि पर्दैन यहाँबाट पैसा लगेपछि ? विज्ञापनको बजार विस्तार हुनु पर्छ कि पर्दैन ?” उनले आगामी वर्षमा समानुपातिक विज्ञापन प्रणाली र क्लिन फिड विज्ञापन प्रणाली लागू हुने उद्घोष गरे ।