भारतीय मुथुट ग्रुपद्वारा नेपालमा ४० कराेडको लगानी - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

भारतीय मुथुट ग्रुपद्वारा नेपालमा ४० कराेडको लगानी



काठमाडाैँ। भारतीय मुथुट फाइनान्सले नेपालको युनाइटेड फाइनान्समा लगानी गर्ने भएको छ।

मुथुट ग्रुपका अध्यक्ष जर्ज मुथुतले युनाइटेड फाइनान्सका अध्यक्ष वसन्त चौधरीलाई ३० बिलियन अर्थात् ३९ करोड ९० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरे। लगानी सम्मेलन २०७५ को उद्घाटनकै दिनमा दिन मुथुत र चौधरीबीच चेक आदानप्रदान भएको हो।

यो फाइनान्स भारतमा सुन धितो राखेर कर्जा दिन निकै चर्चित छ । मुथुट ग्रुपका अध्यक्ष लगानी सम्मेलनमा भाग लिन नेपाल आएका छन् । ग्रुपले यअघि नै नेपाली फाइनान्स क्षेत्रमा लगानी ल्याउने समझदारी गरेको थियो ।

लगानी सम्मेलनको अवसर पारेर चौधरी ग्रुपले मुथुटलाई नेपाल ल्याएर लगानी पक्का गराएको हो । साधारणसभाले प्रतिकित्ता १ सय ९० रुपैयाँका दरले मुथुत फाइनान्सलाई २१ लाख कित्ता बिक्री गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

युनाइटेड फाइनान्समा नेपालको चर्चित व्यावसायिक घराना चौधरी समूहको ठूलो लगानी छ। चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीसहित वसन्तकुमार चौधरी, राहुल चौधरी, अरुण चौधरीको यसमा लगानी छ। वसन्त चौधरी फाइनान्सका अध्यक्ष छन्।

फाइनान्सको चुक्ता पुँजी ८० करोड ५ लाख रुपैयाँ छ। जसमा मुथुत फाइनान्सले ३९ करोड ९० लाख रुपैयाँ लगानी गरेको हो । फाइनान्सले ०७५ पुस मसान्तसम्ममा ५ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यो अवधिमा कम्पनीले ३ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ। गत आर्थिक वर्षको नाफाबाट कम्पनीले यो वर्ष सेयरधनीलाई जम्मा ५.२६ प्रतिशत नगद लाभांश दिएको थियो। फाइनान्सको प्रतिसेयर आम्दानी ६ रुपैयाँ ३३ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ९ पैसा छ। युनाइटेड फाइनान्स २५ वर्षदेखि सञ्चालमा रहेको छ।

युनाइटेड फाइनान्समा अध्यक्ष चौधरीले मुथुत फाइनान्सको नेपाल प्रवेशलाई गर्व गर्ने अवसर भनेका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको दूरदर्शी सरकार रहेको कारण मुथुट फाइनान्सलाई नेपाल ल्याउन सम्भव भएको बताएका छन् ।

शुक्रबारबाट काठमाडौंमा शुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै मुथुटले लामो समयपछि नेपालमा दिगो सरकार बनेका कारण लगानीयोग्य वातावरण बनेको बताएका थिए । नेपालको तीव्र आर्थिक विकासका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिबद्धताको उनले पटक पटक प्रशंसा गरेका थिए ।

भारतको केरलमा मुख्यालय रहेको मुथुट समूहका ६७ करोड ग्राहक छन् । यो समूहलाई युनाइटेड फाइनान्सले रणनीतिक साझेदारका रुपमा नेपाल भित्र्याएको हो ।