बर्दगोरियाको चौँथो गाउँसभा सम्पन्न : चालू र पुँजीगत बजेट खर्चको अवस्था यस्तो छ - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

बर्दगोरियाको चौँथो गाउँसभा सम्पन्न : चालू र पुँजीगत बजेट खर्चको अवस्था यस्तो छ



गोविन्द बिसी/कैलाली
बर्दगोरिया गाउँपालिकाको चौँथो गाउँसभा शुक्रवार सम्पन्न भएको छ । गाउँपालिकाको वडा नम्बर-१ स्थित वडा कार्यालयको सभाहलमा भएको गाउँ सभामा गाउँपालिकाको वार्षिक बजेट, नीति तथा कार्यक्रम कार्यान्वयन र खर्चको अवस्थाको समीक्षा गरिएको छ ।

गाउँसभामा चालु आर्थिक वर्ष २०७५/०७६ को फागुन मसान्तसम्मको आय व्यय विवरण प्रस्तुत गरिएको छ ।वार्षिक कुल २१ करोड १९ लाख ५४ हजार ८ सय ४७ रुपैयाँ बजेटको ४३.८८ प्रतिशत चालू खर्च र १० करोड ५१ लाख ८१ हजार रुपैयाँको २४.७३ प्रतिशत पुँजीगत खर्च भएको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
गाउँपालिकाको आन्तरिक स्रोतबाट ५९ लाख ३२ हजार ६ सय ३ रुपैयाँ आम्दानी देखिएको छ । विविध राजस्व शीर्षकमा गाउँपालिकाको आन्तरिक आयमा यसवर्ष वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

गाउँसभामा गाउँपालिका उपाध्यक्ष भगवती डंगौराले तेस्रो गाउँ परिषदबाट विनियोजन भएका बजेट योजना तथा कार्यक्रमको आयब्यय अनुमोदनका लागि प्रस्तुत गरेकी थिइन् । उपाध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन अनुसार विनियोजित बजेटको ७५ प्रतिशत काम सम्पन्न भैसकेको र २५ प्रतिशत कार्य कार्यान्वयनको चरणमा रहेको जानकारी गरिएको छ । यस्तै, चालु आर्थिक वर्षभित्र नै वडा नम्बर- १, २ र ५ मा सडक कालोपत्रे गर्ने योजनाको सम्झौता भई कार्य सञ्चालनको प्रक्रियामा रहेको जानकारी गरिएको छ ।

गाउँसभामा १९ लाख ४८ हजार चालुतर्फको बाँकी बजेटलाई चालूतर्फकै सेवा परामर्श शीर्षकमा रकमान्तर गरिएको छ । समपूरककोष लगायतको पुँजीगत शीर्षकमा बाँकी रहन गएको ६२ लाख ७९ हजार रकमलाई विकास बजेट योजनामा बाँडफाँड गरिएको छ । यस्तै, स्वास्थ्य चौकी निर्माणतर्फको २० लाख बजेट रकमलाई संशोधन गरी सडक ग्राबिल, स्वास्थ्य इकाई व्यवस्थापन, फर्निचर, औषधी खरिद र योजनामा विनियोजन गरिएको छ ।

गाउँसभामा बोल्दै गाउँपालिका उपाध्यक्ष भगवती डंगौराले गाउँसभा योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था र प्रगतिको समीक्षा गर्ने दिन भएको बताइन् । गाउँपरिषद भनेको समीक्षा गर्ने दिन हो उनले भनिन्- राम्रा र नराम्रा कामको समीक्षा गर्नुपर्छ । उनले विषयगत समितिमा सम्पूर्ण जनप्रतिनिधि र कार्यपालिका सदस्यहरूले विषयगत क्षेत्राधिकार भित्र रहेर काम गर्नुपर्नेमा सुझाव दिइन् ।

गाउँसभामा विभिन्न विषयगत उपसमिति र कार्यसमिति पदाधिकारीका सदस्यहरूले विषयगत प्रगतिको अवस्था बारे विषयगत प्रमुखले नै बोल्नुपर्नेमा एकअर्काबीच आलोचना गर्नतर्फ नै अग्रसर रहेको भन्दै उनले गुनासो गरिन् । उनले आगामी दिनमा यसतर्फ सुधार हुन जरुरी रहेको समेत औँल्याइन् । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि जस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको उपाध्यक्ष डंगौराको तर्क रहेको थियो । यस्तै, महिलातर्फको बजेटमा बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिक समेत पर्ने भएकाले बजेट अपुग देखिएको र आगामी बजेटमा बढाउनुपर्ने धारणा समेत राखेकी थिइन् ।

यस्तै, गाउँपालिका अध्यक्ष बलिराम डंगौराले विकासका लागि सबैले एकजुट हुनुपर्नेमा जोड दिए । जनताको सेवा सुविधा र देश विकास गर्ने बाचा र अठोटका साथ निर्वाचित भएको स्मरण गर्दै जनताको हितमा जनप्रतिनिधिले काम गर्नुपर्ने बताए । उनले गाउँ टोलस्तरबाट नै बजेट योजना छनोट हुने भएकाले जनताका आवश्यकता र समस्या पहिचान गरी विकास योजनाको कार्यान्वयनमा जोड्दिनुपर्ने धारणा व्यक्त गरे । समग्र बर्दगोरियाको विकास र पहिचान कसरी गर्न सकिन्छ गाउँपालिका समग्र वडाको विस्तृत अध्ययन परियोजना डीपीआर तयार गरी काम गरिने बताए ।
उनले युवा तथा खेलकुद विकास, नदी तटबन्धन, पुलपुलेसा, शिक्षा, स्वास्थ्य, बन वातावरण, पर्यटनका लगायतका क्षेत्रमा केन्द्रित भएर गाउँपालिकाले काम गरिरहेको बताए । आगामी दिनमा वडास्तरबाट छाउपडी प्रथा उन्मुलनका लागि समेत कार्यक्रम लागू गरी बर्दगोरिया गाउँपालिकालाई छाउगोठ मुक्त गाउँपालिका घोषणा गरिनुपर्ने गाउँपालिका अध्यक्ष डंगौराले उल्लेख गरे ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुनसिंह कार्कीले स्वागत मन्तव्य राखेको सभामा वडा नम्बर-१ का वडाध्यक्ष जयरुप खतिवडा,वडा नम्बर-२ का वडाध्यक्ष भेखु चौधरी, ३ का वडाध्यक्ष कर्ण सुनार, वडा नम्बर-४ का वडाध्यक्ष पूरणसिंह बिसी, ५ वडाध्यक्ष श्याम कुमारी चौधरी,६ वडाध्यक्ष रामकृष्ण डंगौराथारु लगायतले धारणा राखेका थिए । चौँथो गाउँसभाको सञ्चालन गाउँपालिकाका नायव सुब्बा गोविन्दराज रेग्मीले गरेका थिए ।

गाउँ सभामा संसदीय अभ्यासको रचनात्मक सुरुवात,

स्थानीय तह निर्वाचन पश्चात् गाउँ सभामा संसदीय अभ्यासको रचनात्मक सुरुवात हुन थालेको छ ।

शुक्रवार भएको बर्दगोरिया गाउँपालिकाको चौथो गाउँसभामा संसदीय अभ्यास देखिएको छ ।
गाउँसभामा उपस्थित अधिकांश जनप्रतिनिधि कोट, पाइन्ट र साडीमा सजिएर उपस्थित भएका देखिन्थे ।
न्यायपालिका, कार्यपालिका र विषयगत सदस्यहरू सबै पोसाकमा उपस्थित थिए । सभासदस्यहरूले गाउँसभामा उपाध्यक्षद्वारा प्रतिवेदन प्रस्तुत भएपछि विनियोजित बजेटको समीक्षा गरे । सभामा बाँकी रहेको बजेट योजनाका विषयमा समेत जिज्ञासा र धारणा राखेका थिए ।

तर, कतिपय प्रक्रियामा भने, अलमल देखिएका थिए । बजेट योजना तथा संशोधन प्रस्ताव पेस भएपछि अध्यक्षले पक्ष र विपक्षमा सभा सदस्यहरूको मत माग्नुपर्ने प्रक्रिया भए पनि यो देखिएन । चौथो पटक पनि गाउँसभाका सदस्यहरू ‘मिनी सदन’ मा अलमलिएका देखिए । सदस्यहरूले निर्णयको पक्ष र विपक्षमा हात उठाएर मत जाहेर गर्ने प्रक्रिया भने, देखिएन तर पनि सबैले आ-आफ्नो धारणा र जिज्ञासा भने राखेका थिए ।