वेपत्ता भएका मालारानीका वडाअध्यक्ष भेटीए !

सन्धिखर्क : अर्घाखाँचीको मालारानी गाउँपालिका-२ का वडाअध्यक्ष परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता भएको सय दिनपछि सम्पर्कमा आएका विष्णुप्रसाद भुसाल (विनोद) ले आफु सकुशल रहेको परिवारलाई फोन मार्फत बताएको जनाइएको छ ।
पुस २ गते मालारानी घरबाट सदरमुकाम गएका भुसाल सम्पर्कविहीन भएका थिए। गोरुसिंगेसम्म बस चढेर गएको तर गोरुसिंगेबाट कहाँ गए भन्ने बारेमा थाहा हुन सकेको थिएन।
आफन्तले भनेको आधारमा कपिलवस्तुको बहादुर गञ्जको प्लाइ उद्योग, कृष्ण नगर नाकाको सीसी क्यामेराको फुटेज, बुटबल भैरहवालगायत गोरुसिंगे सन्धिखर्क सडकको जंगलमा समेत सर्च गरिएको तर उनको अवस्था पत्ता लगाउन सकिएको थिएन।
प्रहरीले उनको खोजी कार्य जारी राखेको थियो। वडाअध्यक्षको मोबाइलको कल डिटेल निकाल्ने, सन्धिखर्कको शान्ती बगैचामा रहेको सीसी कयामेरामा पुस २ गते कैद भएको भिडियो हेर्ने लगायतका सबै कार्य प्रहरीले गरेको थियो।तर उनी कहाँ गए भनेर पत्ता लाग्न सकेको थिएन।
वडा कार्यालयको मोटरसाइकल सन्धिखर्क ग्यारेजमा छोडेर बेपत्ता भएका उनि पछिल्लो समय विप्लव समुहमा आवद्द भएको हुनसक्ने चर्चा समेत चल्न थालेको थियो ।

