देउवालाई कारवाही गरियोस भन्दै उजुरी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दर्ता गरिएको छ । कांग्रेस गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति देउवाविरुद्ध कारवाहीको माग गर्दै बिहीबार अनुशासन समितिमा उजुरी दर्ता गराएका हुन् ।
उनले बिहीबार अपरान्ह ४ वजे पार्टी केन्द्रीय कार्यालय सानेपामा सभापति देउवाविरुद्ध कारवाहीको माग गर्दै उजुरी दर्ता गरेको जानकारी दिएका छन् । महासमिति सदस्य बजगाईले बाह्रखरीसँगको कुराकानीमा आफूले दिएको उजुरीको दर्ता नम्बर ११५ भएको पनि बताएका छन् ।
उनले उजुरीमा भनेका छन्, “दोस्रो संविधानसभाबाट पहिलो बनेको पार्टी र त्यसको नेतृत्वमा महाप्रस्थानको आधा गन्तव्यबाटै प्रातःस्मरणीय सुशील कोइरालाबाट जिम्मा लगाइएको पार्टीको शर्मनाक हार गराउनु भएको त छँदैछ, त्यसबाहेक नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सर्वसम्मतिले पारित गर्न किन दिनुभयो ? यसबाट संसदीय मर्यादामा चोट मात्र पुगेन की सिंगो पार्टीको साख गिरेको छ । यसकारण शेरबहादुर देउवामाथि कारवाही नेपाली कांग्रेसको विधानअनुसार हदैसम्मको गरियोस् भनी माग गर्दछु ।”
फोटो : बाह्रखरी