राजतन्त्रको पुनर्स्थापनाको माग गर्दै बृहत प्रदर्शन गर्ने तयारी - Himal Post Himal Post
  • १ चैत्र २०८१, शनिबार
  •      Sat Mar 15 2025
Logo

राजतन्त्रको पुनर्स्थापनाको माग गर्दै बृहत प्रदर्शन गर्ने तयारी



काठमाडौं । शाही युवा शक्ति, नेपालले यही चैत्र २१ गते गणतन्त्रको विरुद्धमा काठमाडौंमा बृहत शक्ति प्रदर्शन गर्ने घोषणा गरेको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति, नेपालले यस्तो घोषणा गरेको हो ।

आफ्नो स्थापनाको ७ औं वार्षिकोत्सवको अवसर पारेर गणतान्त्रिक व्यवस्थाको विरुद्धमा र राजतन्त्रको पुनर्स्थापनाको माग गर्दै काठमाडौंको भृकुटीमण्डपस्थित् प्रदर्शनीमार्गमा बृहत प्रदर्शन गर्न लागिएको अध्यक्ष पशुपति खड्काले जानकारी दिए ।

खड्काले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गणतान्त्रिक व्यवस्थाका अन्तिम प्रधानमन्त्री हुने जिकिर गरे । ‘मैले यो कुरा पहिलेपनि भनिसकेको छु, अब केपी ओली गणतन्त्रका अन्तिम प्रधानमन्त्री हुन्’, उनले भने, ‘मुलुकको राष्ट्रियता नै खतरामा परेको छ । त्यसैले राजा नआई देशको अस्तित्व जोगिँदैन । शाही युवा शक्ति विगत एक दशकदेखि राजतन्त्रको माग गर्दै सडक संघर्षमा छ । हामीलाई अहिले लाखौं जनताको साथ र सहयोग छ ।’

खड्काले हत्या, हिंसा र युद्वको माध्यमबाट राजनीतिमा स्थापित भएकाहरुले नै मुलुकलाई एकतावद्ध बनाउने धरोहर र राष्ट्रनायकका शालिक ढालेर सुख–सयल गरेको आरोप लगाए । उनले थपे, ‘तर, शाही युवा शक्तिले ढालिएका शालिकहरु उठाएर देखाएको छ । हामी निरन्तर राजतन्त्र पुनर्स्थापनाको आन्दोलनमा जुटेका छौं ।’

उनले चैत २१ गतेको बृहत शक्ति प्रदर्शनको पूर्वसन्ध्यामा काठमाडौंका विभिन्न ठाउँमा कोणसभा तथा भेला आयोजना गरिएको जानकारी दिए ।

कार्यक्रममा शाही युवा शक्ति, नेपालका केन्द्रिय प्रवक्ता गोविन्द ढुंगाना, केन्द्रिय सदस्यहरु प्रदीप सिंह थापा र राजकुमार महर्जन, र ललितपुर जिल्ला सल्लाहकार मुस्कान कार्कीलगायतले राजतन्त्र पुनस्र्थापनाको बारेमा आफ्नो धारणा राखेका थिए ।

उनीहरुले चैत २१ गते आयोजना गरिने बृहत शक्ति प्रदर्शनको लागि आजैबाट घरदैलौ कार्यक्रम सञ्चालन गर्ने पनि जानकारी गराएका छन् ।