लोकतन्त्र कर्मकाण्डी जस्तो:डा.भट्टराई
धनगढी । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकतन्त्र कर्मकाण्डी जस्तो भएको बताएका छन् ।
यहाँ आज आयोजित खुला अन्तर संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईले कर्मकाण्डी र परम्परावादी लोकतन्त्रलाई सच्चा र विकसित लोकतन्त्र बनाउनमा नयाँ शक्ति पार्टी लागेको बताए ।
दुई तिहाइ बहुमतको अहिलेको कम्युनिष्ट सरकारले सुशासन र विकास दिन नसकेको र जताततै भ्रष्टाचार मौलाएको आरोप लगाउँदै उनले भने, ‘यस्तो अवस्थामा सरकारलाई खबरदारी गर्न जरुरी छ ।’
सो पार्टीका सुदूरपश्चिम प्रदेश इञ्चार्ज कृष्णकुमार चौधरीलेलगायतले पनि बोलेका थिए । देशको विद्यमान पस्थितिमा राजनीतिक दलको भूमिकाका विषयमा नयाँ शक्ति पार्टी नेपालले थालेको जनसंवाद यात्रा २०७५ का क्रममा खुला अन्तर संवाद कार्यक्रम गरिरहेको छ ।