क्रिकेटर महेन्द्र सिंह धोनीले गरे सर्वोच्च अदालतमा उजुरी

एजेन्सी । भारतका चर्चित क्रिकेटर महेन्द्र सिंह धोनीले आम्रपाली समुहसँग आफ्नो पैसा उठाउन भारतको सर्वोच्च अदालतमा उजुरी गरेका छन् ।
रियल स्टेट क्षेत्रमा कहलिएको आम्रपाली समुहसँग धोनीले सन् २००९ मा ब्रान्ड एम्बेसडरको रुपमा आबद्ध भएबापत पाउनुपर्ने भुक्तानी नपाएपछि उनले अदालतको ढोका ढकढकाउनु परेको बताइएको छ ।
करिब ६ वर्ष उनी उक्त संस्थासँग आबद्ध भएवापतको २२.५३ करोड भारु र त्यसको ब्याज १६.४२ करोड भारु सहित कुल ३८.९५ करोड भारु तिराउन उनले उजुरी गरेको बुझिएको छ ।
धोनीका अनुसार आम्रपालीले उनीसँग विभिन्न करार गरेको र आफ्नो तस्विरहरु आम्रपालीले विभिन्न व्यवसायीक प्रयोजनको लागि प्रयोग गरेको छ । यसको भुक्तानी भने हालसम्म गरेको छैन ।
धोनीकी श्रीमती साक्षीपनि उक्त समुहको च्यारीटी कार्यक्रममा जोडिएकी थिइन् । सन् २०१६ मा आम्रपाली समुहले रियल स्टेटको व्यवसायमा ठगी गरेको खबर बाहिरिएसँगै धोनीले उक्त संस्थासँग आफ्नो आबद्धता रद्द गरेका थिए ।
गत फेब्रुअरी २८ मा सर्वोच्चले आम्रपालीको कामलाई ठगी गरेको ठहर गर्दै संस्थाका सीएमडी अनिल शर्मा र दुई जना निर्देशक अजय कुमार र शिव प्रियलाई जेल चलानको आदेश गरिसकेको छ ।

