अनियमिता गरेको भन्दै डोटीका शिक्षा विकास प्रमुख पौड्याललाई कालोमोसो

सिलगढी -डोटीका शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख अनन्त कुमार पौड्याललाई कालोमोसो दलिएको छ । आईतवार युवाहरुको एक समूहले प्रमुख पौड्याल कार्यकक्षमै गएर कालोमोसो दलेका हून् । बिद्यालय शिक्षा परीक्षा (एसइई) को अनुगमन गरी दिउंसो कार्यकक्षमा भएको मौका छोपी पौड्याललाई १०-१२ जनाको एक समूहले कालोमोसो दलेको हो ।
एक प्रत्येक्षदर्शीका अनुसार उनीहरुले प्लाष्टिकको झिल्लीमा कालोमोसो बोकेर आएका थिए ।कालोमोसो दले लगत्तै नेपाल बिद्यार्थी संघ समर्थित बिधार्थीहरुले प्रेस बिज्ञप्ती जारी गर्दै शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख पौड्यालले अनियमिता गरेको कुरा सार्वजनिक गरेका छन् ।
बिद्यालयका भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजना छनौटमा पौड्यालले १० प्रतिशत कमिसन खाएर मात्रै डिणे गरेको, बिद्यालयको अधिकार क्षेत्र मिचेर करार शिक्षकहरु नियुक्त गर्ने गरेको, करार शिक्षक नियुक्त गर्दा कमिसन खाई प्रश्नपत्र समेत आउट गर्ने गरेको प्रेस बिज्ञप्तीमा उनिहरुले आरोप लगाएका छन् ।
यस्तै अस्थायी, करार शिक्षकहरुको म्याद थप गर्दा उठेको राजश्व अनियमित खर्च गर्ने गरेको, वढुवा हुने शिक्षक संख्या लुकाएको र बिद्यालय शिक्षा परीक्षाका लागि केन्द्राध्यक्ष छनौट गर्दा योग्यता क्षमताको आधारमा नगरी राजनीतिक कोटाका आधारमा छनौट गरेको आरोप बिज्ञप्तीमा लगाईएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालवहादुर धामीले नौ बुँदे प्रेस नोट जारी गर्दै कालोमोसो लगाएको जानकारी आएको वताए । उनले यस बिषयमा थप बुझ्नका लागि प्रहरी टोली परिचालन गरिएको समेत जानकारी दिए ।

