विप्लव समूहको टार्गेटमा सुमार्गी र प्रसाई !
जनयुद्धकालिन नीति नै अख्तियार गरेको नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजिक मानिएका व्यावसायीको सम्पत्ति कव्जा गर्न थालेको छ ।
यसबाहेक प्रचण्डनजिक भनिएका व्यापारी र व्यावसायीका सम्पत्ति, उनीहरूको अवैध आयस्रोतको खोजीलाई पनि निशानामा पारिएको छ ।
‘नेताका आडभरोसा र राज्यलाई नै भ्रममा पार्ने व्यावसायीमाथि पार्टीले निगरानी बढाएको छ’, विप्लव समूहका एक नेताले भने ।
उक्त समूहले एनसेललगायतका विभिन्न प्रकरणमा बाह्य देशमा सम्पत्ति थुपारेको भनिएका व्यावसायी अजेयराज पराजुली (सुमार्गी), ठेकेदार शारदा प्रसाद अधिकारी, मेडिकल व्यावसायी दुर्गा प्रसाईलगायतको सम्पत्तिको स्रोत र विवरणका आधारमा कव्जाको नीति अख्तियार गरेको छ ।
विप्लव समूहका प्रवक्ता प्रकाण्डको साथबाट फेला पारिएको भनिएको डायरीमा पनि केही व्यावसायीका नाम छन् । त्यतिमात्र होइन, स्वयम् प्रचण्ड, प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिपक्षी दलका नेता देउवालाई पनि टार्गेट गरि डायरीमा नाम उल्लेख भएको प्रहरीको दाबी थियो । त्यसपछि उक्त दललाई प्रतिबन्धको घोषणा गरियो ।
विप्लव समूहले यसको खण्डन गरेको छ । तर, नेताको आड भरोसामा ठेक्का लिने, सम्बन्धन लिने र भ्रष्टाचार बढाउन उद्दत रहेको भनी विप्लव समूहले व्यावसायीलाई भने टार्गेटमा राखेको हो । उनीहरूको अवैध धन्दाबाट आर्जित सम्पत्ति कव्जाको नीति उसले अख्तियार गरेको छ ।
यी व्यापारीको सम्पत्ति कव्जाको सुरुआत पनि भइसकेको दाबी गरिएको छ । सुमार्गीको नाममा रहेको कास्की जिल्लाको २५ रोपनी जग्गा कव्जा गरेको विप्लव समूहको दाबी छ । शनिबार विप्लव समूह कास्कीले एक विज्ञप्ति जारी गरी सोवासचन्द्र सिग्देल, रामचन्द्र र हरिचन्द्र सिग्देलको नामबाट मुक्ति श्री प्रालिका नाममा रहेको जग्गा कव्जा गरेको जनाएको थियो ।
यस्तै ललितपुरलगायतका विभिन्न ठाउँमा सडकदेखि अनेक ठेक्का लिएका अधिकारी, झापामा मेडिकल कलेज खोलेको प्रसाईलगायतलाई पनि निगरानीमा राखिएको सो समूहले जनाएको छ । ‘दुई नम्बरी र कला बजारीलाई जोगाउनका लागि सरकारले धरपकड गरेको छ, यसको जवाफ युद्धकालिन नीतिअनुसार हुनेछ’, सो समूहले भनेको थियो । यहि नीतिअनुसार नेताका आसेपासे व्यावसायीलाई निगरानीमा राखिएको हो ।