उपेन्द्र यादवले भने : संविधान संशोधन नभए सडक आन्दोलन चर्किन्छ
पोखरा । उपप्रधान एवम् स्वास्थ्यमन्त्री तथा संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए फेरि सडकमै ओर्लने चेतावनी दिएका छन् । शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा सहभागी यादवले संविधान संशोधनकै लागि सत्तामा गएको बताए ।
“हामी सरकारमा गएको संविधान संशोधन गर्नकै लागि हो, जुुनदिन हामीलाई विश्वास हुन्छ, अब संविधान संशोधन हुनेवाला जनताको हितमा काम हुनेवाला छैन । हाम्रा लागि सडक भन्ने कुरा अझै बाँकी छँदैछ, त्यो आदत चाहिँ छँदैछ,” उनले भने ।
यादवले नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी ओली र प्रचण्डले संविधान संशोधनको विषयमा हस्ताक्षर समेत गरेको बताए ।
“हामी जुन स्वार्थमा सरकारमा गएका छौँ र कम्युनिष्ट पार्टीले दुवै अध्यक्षहरुले हस्ताक्षर गर्नुभएको कुरा जुनदिन बिर्सनुहुन्छ, संविधान संशोधन हुन्न भन्ने कुरा हामीलाई यकिन हुन्छ, त्यो दिन हामी पार्टीबाट सडकमा ओर्लन तयार हुन्छौं,” उनले भने ।
संविधान संशोधनको लागि केही समय पर्खिने उनको संकेत थियो ।
यादवले भने, “राजनीतिमा केही धैर्यता पनि चाहिन्छ, यसको मतलब अनन्तकालसम्म कुर्ने भन्ने पनि छैन ।”