नीजिस्रोत शिक्षकको पेसागत वृत्ति विकासमा ध्यान दिन जोड

गोविन्द बिसी/बौनिया
नीजिस्रोत शिक्षकको पेसागत सुरक्षा र शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवाला पक्षबिच अन्तरक्रिया गरिएको छ ।
नीजिस्रोत शिक्षक समिति बर्दगोरियाले शनिवार कैलालीको बौनिया स्थित होटेल हाइवे प्लाजाको सेमिनार हलमा अन्तरक्रिया कार्यक्रम गरेको हो ।
सो अवसरमा सहभागीहरूले सामुदायिक विद्यालयमा कार्यरत नीजिस्रोत शिक्षक, कर्मचारीको पेसागत सुरक्षा र सेवासुविधाका सवालमा ध्यान दिन आवश्यक रहेको बताए ।
वर्षौँसम्म विद्यालयमा कार्यरत रहँदा नीजिस्रोत शिक्षकप्रति राज्यले विभेद गरेको भन्दै उनीहरूले दुखेसो गरे ।
उनीहरूले विद्यालयको शैक्षिक सुधार, विद्यालय अनुगमनको जिम्मेवारी, पेसागत तालिम, जनशक्ति व्यवस्थापन, रेखदेखको अधिकार स्थानीय सरकार मातहतमा आएको भन्दै कसरी शिक्षा र निजिस्रोत शिक्षकको व्यवस्थापन गर्न सकिन्छ ? स्थानीय सरकारले पहल कदम चाल्न आवश्यक भएको औँल्याए ।
कार्यक्रममा बोल्दै बालकन्या आधारभूत विद्यालयका प्रअ भूमिप्रसाद शर्माले विद्यालयको आर्थिक अभावका कारण नीजिस्रोत शिक्षकलाई समयमै तलब खुवाउन नसकिएको भन्दै असन्तुष्टि व्यक्त गरे । दरबन्दी, राहत शिक्षकलाई तलब खुवाउँदा नीजिस्रोतका शिक्षकहरूले समयमा तलब पाउनुहुँदैन प्रशासनलाई समेत अप्ठ्यारो लाग्ने गरेको छ उनले भने ।
कार्यक्रममा विद्यालय प्रअले पेसागत सुनिश्चितता र सुविधा नभएको भन्दै पिडा र चिन्ता बोकेर शिक्षकले काम गरिरहेको गुनासो गरे ।
नेपाल विद्यालय कर्मचारी परिषद् कैलाली जिल्ला अध्यक्ष गणेश प्रसाद जोशीले सामुदायिक विद्यालयमा कार्यरत नीजिस्रोत शिक्षक, कर्मचारीको सेवा सुविधा र पेसागत सुरक्षाका सवालमा गाउँपालिकाले पहल चाल्नुपर्ने बताए । उनले न्यून पारिश्रमिकमा काम गर्दा शिक्षक, कर्मचारीको आत्मसम्मान र मनोबल कमजोर हुने अवस्था रहेको भन्दै आगामी आर्थिक वर्षको बजेटमा गाउँपालिकाबाट तलब सुविधाको व्यवस्था गर्न स्थानीय सरकारसँग आग्रह गरे ।
कार्यक्रममा नेपाल शिक्षक सङ्घ बर्दगोरिया अध्यक्ष भीमदत्त बिनाडीले नीजिस्रोत शिक्षकका विषयमा शिक्षक सङ्घले यसअघि देखि नै आवाज उठाउँदै आएको बताए । उनले नीजिस्रोत शिक्षक शब्द नै उपयुक्त नभएको बताउँदै आगामी दिनमा बर्दगोरिया गाउँपालिका शिक्षकका रूपमा स्थापित गर्न पहल चाल्नुपर्नेमा जोड दिए । सरकारले माध्यमिक तहसम्म निःशुल्क र अनिवार्य शिक्षाको अवधारणा ल्याएको भए पनि विद्यार्थी अनुपातमा शिक्षक दरबन्दीको व्यवस्थापन नहुँदा समस्या भएको बताए ।
त्यसै गरी, नेपाल शिक्षक महासङ्घ बर्दगोरिया अध्यक्ष उदयसिंह बिसीले नीजिस्रोत शिक्षकले उठाएका मागप्रति शिक्षक महासङ्घ सकारात्मक भएको र जायज मागलाई गाउँपालिकाले सम्बोधन गर्नुपर्ने बताए ।
विद्यार्थीको चाप र आर्थिक अभावका कारण चाहेर पनि कतिपय काम पूरा हुन नसकेको बताउँदै विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि शिक्षकले पनि आफ्नो अधिकार र कर्तव्यको ख्याल गर्दै लाग्नुपर्ने धारणा राखेका थिए ।
कार्यक्रममा बर्दगोरिया गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, गाउँपालिकाका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
त्यस अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्षका तर्फबाट वसन्त मुरारी माविका अध्यक्ष टंक बहादुर कुँवरले सरकारले नै समस्या निम्त्याएको आरोप लगाए । शिक्षक व्यवस्थापनको समस्या विद्यालयको व्यवस्थापन समितिका कारणले भएको होइन । उनले भने- राज्यले विद्यालयको तहवृद्धि र कक्षा सञ्चालनका लागि अनुमति दिने तर, शिक्षक दरबन्दीको व्यवस्था नगर्दा यस्तो समस्या आएको हो ।
विद्यार्थी सङ्ख्या अनुपातमा विद्यालयमा शिक्षक दरबन्दी नभएकाले विद्यालयले आन्तरिक स्रोत व्यवस्थापन गरी तलब खुवाउनुपर्ने अवस्था आएको उनले बताए ।
कार्यक्रममा महुन्याल माविकी अध्यक्ष धिरेन्द्रा जोशीले चुनावको समयमा “सिंह दरबारको अधिकार गाउँगाउँमा” भनिएको तर, सर्वसाधारणले अहिलेसम्म त्यो कुराको महसुस गर्न समेत नपाएको बताइन् । उनले स्थानीय सरकारले शिक्षा र स्वास्थ्यमा बढी जोड दिई लगानीको वातावरण सृजना गर्नुपर्ने बताइन् ।
विद्यालयको आर्थिक स्रोत अभावका कारण नीजिस्रोतका शिक्षकहरूलाई तलब खुवाउन कठिन भएको उनले गुनासो गरिन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष बलिराम डगौराले गाउँपालिका स्तरमा बुद्धिजीवी, शिक्षाबिद लगायत सम्बन्धित सबैसँग छलफल गरी आउँदो आर्थिक वर्षमा बजेटको प्रबन्ध गरिने आश्वासन दिए ।
गाउँपालिका अध्यक्ष डगौराले सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार निर्माण, प्रगति र शिक्षाको गुणस्तर बढाउन बर्दगोरिया गाउँपालिकाले सक्दो पहल गर्ने बताएका थिए ।
उनले सामुदायिक विद्यालयको स्थिति सुधार्न के सहयोग गर्न सकिन्छ भनेर गाउँपालिकाले योजना बनाइरहेको हुँदा शिक्षकलाई थप जिम्मेवार भएर लाग्न आग्रह गरे । सामुदायिक विद्यालयहरूमा धेरै समस्या रहेको र त्यसलाई क्रमशः समाधान गर्न सम्बन्धित सबै पक्ष तन मनले लाग्नुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा नीजिस्रोत शिक्षक समितिले गाउँपालिका शिक्षकको रूपमा घोषणा गरी व्यवस्थापनको स्वामित्व लिन ३ बुँदे माग राखी गाउँपालिका अध्यक्षको ध्यानाकर्षण गरेको छ ।
कार्यक्रममा वडा नम्बर-२ का वडाध्यक्ष भिखु चौधरी, ३ का वडाध्यक्ष कर्ण सुनार, ५ की वडाध्यक्ष श्यामकुमारी चौधरी, नेपाल शिक्षक सङ्गठनका प्रतिनिधि लीलाराम विश्वकर्मा, जगदम्बिके भगवती माविका प्रअ नेत्र बहादुर खड्का, मावि कोटातुल्सीपुरका बिब्यस अध्यक्ष बम बहादुर बम लगायतले मन्तव्य राखेका थिए ।
नीजिस्रोत शिक्षक समिति बर्दगोरिया अध्यक्ष प्रमोद साउँदको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष बलिराम डंगौरा रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष भगवती डगौरा रहेकी थिइन् ।
उपाध्यक्ष पल्टुराम चौधरीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव शिवराज गौतमले गरेका थिए ।

