देउवा र पौडेल विप्लवसँग मिल्न चाहन्छन् ? - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

देउवा र पौडेल विप्लवसँग मिल्न चाहन्छन् ?



बन्दुक सुम्सुम्याउने राजनीति र काङ्ग्रेसको अर्को राजनीतिक पराजय ?

१. हिजो स्वयम् काङ्ग्रेस र एमालेको राजनीतिक नेतृत्वले आफैँ निर्णायक राजनीतिक हैसियतमा रहेर दरवार समेतको सहमतिमा बनाएको संविधान विरुद्ध प्रचण्ड -बाबुरामको नेतृत्वमा बन्दुक उठ्यो !

एमाले र दरवारियाहरूले त्यसरी उठेको बन्दुकलाई लामो समयसम्म सुम्सुम्याइरहे, पुल्पुल्याइरहे !
र सरकारलाई हरतरहले असहयोग गरिरहे !
पछि आएर काङ्ग्रेस नै काङ्ग्रेसलाई असहयोग र विरोध गर्न थाल्यो !
जव माओवादी दरवार, सेना र एमालेलाई समेत चुनौती दिन थाल्यो — तव मात्रै एमाले, सेना र दरवार माओवादी विरुद्ध उभिए जस्तो गरे तर माओवादीलाई आफ्नो राजनीतिक अभिष्टमा प्रयोग गर्ने गुह्य रणनीति भने अवलम्वन गरिरहे !

*****

२. राजा ज्ञानेन्द्रले सत्ता हातमा लिए पछि काङ्ग्रेस र गिरिजाप्रसाद पनि माओवादी सँगको त्यस्तै गुह्य रणनीतिमा लागे !
सेनाले काङ्ग्रेस सरकारलाई मात्र होइन, राजाको सरकारलाई पनि सहयोग गरेन !
सिद्धान्तमा सेना त्यतिखेर राजनीतिक भएको हो !
त्यो नै सेनाको राजनीतिकरण थियो !
सरकारमा को आउने को जाने भनेर निर्णय गर्ने काम सेनाको होइन !

सेनाले सरकारमा को छ ? सरकार कसरी बनेको छ ? भनेर हेरेर निर्णय गर्न थाल्ने हो भने त्यो मुलुकको अस्थिरताको कारक नै सेना बन्ने गर्दछ !
सरकारमा जो छ उसको आदेश मान्ने हो सेनाले !
सरकारको निर्णयको औचित्य सेनाले ठहर गर्ने होइन,
प्रक्रिया पुगेको छ छैन त्यो पनि उसले हेर्ने होइन I
त्यसको उत्तरदायित्व आदेश दिने सरकार कै हुन्छ , राजनीतिक अधिकारी कै हुन्छ , सेनाका अधिकारीको हुन्न !
हो सरकारले माग्दा उचित परामर्श भने दिनु पर्दछ र आफ्नो सामरिक क्षमता, अवस्था र मुलुकको सुरक्षा र प्रतिरक्षाको वास्तविक स्थितिको जानकारी भने सरकारलाई गराइरहनु पर्दछ I

*****
३. आज प्रचण्ड-बाबुराम समेत भएर बनेको संविधान विरुद्ध उनीहरूकै पूर्व सहयोगीहरू बन्दुक बोकेर उपद्रो मच्चाउदैछन् !
हिजोको एमालेको भूमिकालाई आज काङ्ग्रेसले अनुशरण गरिरहेको छ !
विप्लवको बन्दुक सम्वन्धमा हिजोका दरवारियाहरू र सेनाको भूमिका कतै आज पनि त्यस्तै त छैन ?
भोली विप्लव आजको प्रचण्डको हैसियतमा पुगे भने विप्लवका अर्का सहयोगीले फेरी बन्दुक नउठाउलान !
अनि मुलुकको राजनीतिमा सधैं बन्दुकले निर्णय गर्ने ?

*****

४. वर्तमान संविधानले मुलुकलाई निकास दिन सक्दछ जस्तो लाग्दैन !
सिंगो मुलुक र जनताको ठूलो सङ्ख्याको भावना विरुद्ध केही नेताहरूको कुण्ठा, पूर्वाग्रह र स्वार्थ सिद्धिको उद्देस्यले मात्रै आएको हो यो संविधान !
स्वयम् संविधानले र संविधानले निर्माण गरेका राजनीतिक संरचना र ल्याएका परिवर्तनहरुले नै संविधान खाँदैछ !
तर पनि सिद्धान्तमा यो संविधान निर्वाचित जन प्रतिनिधिहरूले निर्माण गरेका हुन् !
तर जनता यो संविधान विरुद्ध सडकमा आउने अधिकार राख्दछन् – जनताको यो अधिकारलाई कसैले चुनौती दिन सक्दैन !
——-
तर बन्दुक बोकेर यो संविधान विरुद्ध उभिने अधिकारलाई स्वीकार्न हुन्न, सकिन्न !
स्वीकार्ने हो भने हरेक आठ दश बर्षमा नयाँ नयाँ प्रचण्ड, बाबुराम र विप्लवहरू आइरहन्छन I
भतुवा वुद्दिजीवी, नागरिक समाज र अधिकारवादीहरू आरती उतार्न लाम लागेर उभिन पुगिहाल्छन् !

*****
५. बन्दुक सरकारलाई बुझाएर संविधान विरुद्ध विप्लव सडकमा आउँछन् भने सबै मान्यता र विश्वासकाले स्वागत गर्नु पर्दछ !
तर बन्दुककै बलमा मुलुकमा आफ्ना एजेन्डा थोपर्ने कुरालाई विरोध गर्नै पर्दछ !
बन्दुकलाई नियन्त्रण गर्ने सरकारको अधिकारलाई चुनौती दिन सकिन्न !
राजनीतिक दलहरू र सेना दुबैले त्यो अधिकार राख्दैनन् !

*****
६. हिजो प्रचण्ड र बाबुरामले उठाएको बन्दुकले राज्यलाई हराएको हो !
राजनीतिक रूपमा माओवादी विजयी भएका हुन् !
काङ्ग्रेस, एमाले, राजा , सेना सबै हारेका हुन् !
राजनीतिक रूपमा माओवादी विजयी भएका हुन् !
अभूतपूर्वरूपमा विजयी भएका हुन् !
सेना माथि प्राविधिकरूपमा निर्णायक विजय हाँसिल नगरेका
मात्रै हुन् I
—–
परिवर्तनलाई हेर्ने दृष्टिकोण अलग हुन सक्दछ तर माओवादीहरूले मुलुकमा सात सालकै जस्तो ठूलो परिवर्तन ल्याएका हुन् !
अझ सात सालको काङ्ग्रेसको तुलनामा २०६२-६३को माओवादी बढी निर्णायक हैसियतमा थिए I

*****
७. नेपाली राजनीतिको सिद्धान्तहीन चरित्र र नेताहरूको कुण्ठाको परिणाम विप्लव बलियो हुँदै जाने स्थिति बन्दै छ !
उनी बलियो हुँदै जाँदा नेकपाको पूर्व माओवादी र पूर्व एमालेका भूमिगत माओवादीहरू विप्लव सँगनै हुने छन् !

*****
८. हिजोका माओवादीसँग राजनीतिक रूपमा सबैभन्दा ठूलो पराजय त काङ्ग्रेसले नै भोगेको हो I
अव राजनीतिकरूपमा विप्लवसँग पनि हार्ने त काङ्ग्रेस नै हो I
त्यो अर्को पराजय कस्तो हुने भन्ने मात्रै हो I
——
सत्तारूढ नेकपाले सरकार हार्ला तर राजनीति हार्दैन !
अझ माछो देखे दुला भित्र हात र सर्प देखे दुला बाहिर हातको विकल्प त ऊसँग सधैं रहन्छ -त्यसमा ऊ अभ्यस्त भैसकेको छ I
जो अभ्यस्त छैनन् ती अभ्यस्त हुँदै जालान् – ओलीको प्रचण्डसँगको अपूर्व मिलन जस्तै गरी !

*****
राजाको रीसले प्रचण्ड र बाबुरामसँग गिरिजाप्रसाद मिसिए जस्तै ओलीको रीसले शेरबहादुर र रामचन्द्र विप्लवसँग भित्र भित्रै मिसिएको हो भने त नेपाली राजनीतिमा काङ्ग्रेस अझ कहाँ पुग्ने हो — श्री पशुपतिनाथ नै जानुन ! (नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशबप्रसाद भट्टराईको फेसबूक वालबाट)