विप्लवविरुद्ध सेना परिचालन : सत्य के हो ? - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

विप्लवविरुद्ध सेना परिचालन : सत्य के हो ?



काठमाडौं– केही दिनदेखि कालिकोट, रोल्पा लगायतका जिल्लामा नेपाली सेना परिचालन भएको खबरहरु विभिन्न सञ्चारमाध्यममा आइरहेका छन्। जसका कारण कतिपयलाई लाग्न सक्छ- के विप्लव समूहको गतिविधि रोक्न सेना परिचालन भएकै हो त?

तर, सेना परिचालन गर्ने छुट्टै विधि छ। सुरुमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसमा मन्त्रिपरिषद्ले सेना परिचालन निर्णय गरी राष्ट्रपतिलाई जानकारी गराउनुपर्ने कानुनी प्रावधान छ।

सुरक्षा परिषद्को सिफारिसबिनै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध सेना परिचालन भएका खबरहरु आएका छन्।

यसबारे नेपाली सेनाले गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेर खण्डन गरेको छ।

आफ्नो पूर्व निर्धारित तालिम, सैनिक अभ्यास तथा स्वास्थ्य शिविर लायतका नियमित कार्यहरुमा केन्द्रित भएका कुरालाई सञ्चारमाध्यमले सेना परिचालन भनेर व्याख्या गरेको भन्दै उक्त कुराको सेनाले खण्डन गरेको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालय जंगी अड्डाद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेना नेपालको विधान, सैनिक ऐन र नेपाल सरकारको नीति तथा निर्देशन अनुसार सञ्चालन हुने संस्था भएकाले नेपाली सेना आफ्नो जिम्मेवारीप्रति सजग छ। सोही आधारभूत मान्यतामा नेपाली सेना सदैव अडिग रहेको समेत स्मरण गराउँछौं।’

सरकारले गत फागुन २८ गते विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ।