नगरपालिकाका कर्मचारी कुटाकुट, मुख्य योजनाकार फरार - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

नगरपालिकाका कर्मचारी कुटाकुट, मुख्य योजनाकार फरार



डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिकाका कर्मचारी र जीप चालकबीच कुटाकुट भएको छ । कुटाकुटमा परेर नगरपालिकाका नायब सुब्बा हिराचन्द्र धरला घाइते भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।

घाइते धरलाको टाउकोमा गम्भीर चोट लागेकाले प्राथमिक उपचार स्थानीय मेडिकलमा गराएर थप उपचारको लागि बिहीवार बिहानै जुफाल विमानस्थलबाट जहाजमा नेपालगञ्ज लगिएको छ ।

धरला र नगरकै अर्का कर्मचारी खड्कसिंह कठायत बुधवार साँझ खदाङ्बाट त्रिपुराकोट आउने क्रममा सिउरेनी बजार पुगेपछि गाडी रोकेर गाडीको भाडा घटाउने बिषयमा चालकसँग कुरागर्दा विवाद भएपछि झडप भएको प्र्रहरीले बताएको छ ।

धरलाले खदाङ् त्रिपुराकोट खण्डमा ५०० रुपैयाँ भाडा महँगो भएकाले ४०० रुपैयाँ मात्रै भाडा लिन पाउने बताएपछि ‘भाडा घटाउने तँ को ?’ भन्दै जीप र ट्रयाक्टर चालकहरुले सामूहिक रुपमा आक्रमण गरेको बताइएको छ ।

घटनामा संलग्न रुकुम जिल्ला आठबिसकोट नगरपालिका वडा नं ९ बस्ने जीवन सिँह रावत, वडा नं ११ बस्ने नविन नेपाली, वडा नं ६ बस्ने गोपाल बोहोरा, जाजरकोट नलगाड नगरपालिका ७ बस्ने प्रदिप बुढाथोकी, वडा नं १२ बस्ने महेन्द्र बिकलाइ बुधवार राति नै प्रहरीले पक्राउ गरिसकेको त्रिपुराकोट प्रहरी चौकीका प्रहरी नायब निरीक्षक टेकबहादुर देउवाले जानकारी दिए । घटनामा संलग्न मुख्य योजनाकार प्रेम बिकसहित दुईजना फरार रहेको र खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

बिहीवार खदाङ–त्रिपुराकोट खण्डमा गाडी चलाउने आधादर्जन चालकहरु नियन्त्रणमा राखेर हिरासतमा राखेपछि सो खण्डमा यातायातसेवा बन्द भएको छ । सो सडकखण्डमा यातायात व्यवसायीले मनपरी हिसाबमा भाडा उठाइरहेकाले त्यसको नियमन गर्ने र भाडादर घटाउने विषयमा सरोकारवाला निकायले व्यवसायीको ध्यानाकर्षण गराएका थिए ।

बुधवारमात्रै त्रिपुरासुन्दरी नगरपालिकामा यस्ता चारओटा घटना घटेका थिए ।