रश्मी “रोदन”का गजल
१ .
बिचार गर्नुस् यहाँ पाइला पिच्छे घात हुन्छ।
खुट्टा तान्ने र लडाउनेको अर्कै जमात हुन्छ।
अविश्वासको आरोप स्त्रीमाथी पर्छ यथार्थ।
घातिहरुमा बढी लोग्ने मान्छेकै जात हुन्छ।
नि:स्वार्थ प्रेम गर्छन् हजार सपना सजाएर।
तर कयौं नारीको सप्नामा तुसारापात हुन्छ।
कोहि चन्द्रमा बनेर चम्किन्छन् जगतमाझ।
अफसोच कसैको जीवन औंसी रात हुन्छ।
दुनियाँको नजरमा हस्मुख नै किन नहोस्।
हरेकको बेग्ला बेग्लै दर्दनाका खात हुन्छ।
२ .
जति सजाए पनि झुपडी घर हुँदैन।
भन्छौ महिलाको स्थायी थर हुँदैन।
सामाजिक रुपले त पतिपत्नी हुन्।
तर पिपलको पहुँच भित्र वर हुदैन।
मूर्ख प्रेमीको संगतमा फसेपछि ऊ।
प्यारको डाकु हुन्छ रत्नाकर हुँदैन।
देशको हालत देखेर नै आजित छु।
ढुकुटी रित्त्यो सरकार खबर हुँदैन।
अचेल मभित्र पनि शंका जागा छ।
बुढापाका भन्थे मर्दाको भर हुदैन।
३
मनैदेखी तिमीलाई कति चाहें कति।
देव ठानी मनमा कति सजाएँ कति।
मेरो मयाको विरुद्ध मुद्दा हालेपछि।
दिलरुपि अदालत कति धाएँ कति।
तिमीसँग केहिछिन बिछोडिनु पर्दा।
आँखाबाट आँसु कति बगाएँ कति।
मात्र`प्राप्ती हैन प्रेम त्याग पनि हो´।
लेखाजोखा छैन कति गुमाएँ कति।
मायाको आधार उनैलाई सम्झिदा।
तिरस्कार्को इनाम कति पाएँ कति।
४
गजल लेखेर म घरबार चलाउन सक्छु।
गजल कै भरमा दरबार चलाउन सक्छु॥
किन कमजोर ठान्छन हामीलाई सबैले?
गजलिय शब्दको तरबार चलाउन सक्छु।
बमबारुदको के दम छ हामीमा शक्ती हुन्छ।
गजल मुक्तक लेख्दै संसार चलाउन सक्छु।
छोड ए लाचीहरु आफ्नो कुर्सी आजैदेखि।
गजल लेखेर नै म सरकार चलाउन सक्छु।