प्रचण्डसँग अमेरिकी पूर्वराजदूतले ‘जय नेपाल’ भनेपछि…
नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट डेलिसीले आफ्नो सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गतिशील नेता भएको बताएका छन् ।
पत्नी सीता दाहालको उपचारका क्रममा अमेरिकामा रहेका प्रचण्डसँगको भेटपछि डेलिसीले प्रचण्ड गतिशील नेता भएको प्रतिक्रिया दिएका हुन् । उनले नेपालका लागि राजदूत रहँदा प्रचण्डसँग गरेको सहकार्यको स्मरण पनि गरेका छन् ।
डेलिसीले नेपालको शान्ति प्रक्रिया सफलता र मेलमिलापतिर अघि बढेको समेत बताएका छन् । उनले प्रचण्डसँग विवादहरु भए पनि कहिल्यै शत्रुतापूर्ण सम्बन्ध नरहेको र मिलेर नै शान्तिको बाटो खोजिएको बताएका छन् । डेलिसीले पूराना कुरामा अल्झिनुभन्दा समृद्ध नेपालका लागि अघि बढ्नु राम्रो हुने भनेका छन् ।
उनले भनेका छन्, ‘प्रचण्ड नेपाल कम्युनिस्ट पार्टीका एक जना अध्यक्ष हुन् । म राजदूत हुँदा उनी माओवादीका नेता थिए। उनीसँग मिलेर मैले नाजिकबाट शान्ति प्रक्रियाका लागि काम गरेको थिएँ। हामी बारम्बार भेट गर्थ्यौं, हाम्रा भेटहरु गतिशील प्रकृतिका हुन्थे, कहिलेकाहीं विवादहरु हुन्थे । तर, शत्रुतापूर्ण कहिले भएन। हामीले मिलेर शान्तिको बाटो खोज्यौं, अनि आज ७ वर्षपछि अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्कीको चाँजोपाजोमा कफी भेटघाट हुन सक्यो । शान्तिपूर्ण देश नेपाल, जो अहिले मेलमिलापतर्फको यात्रा सम्पन्न गर्न लागिरहेको छ, सम्बन्धि फेरि पनि कुरा गर्न पाउँदा राम्रो लागिरहेको छ । पूराना कुरामा अल्झिरहनुभन्दा हामीले भविष्यको बलियो समृद्ध नेपाल बनाउन आइपर्ने चुनौतीका विषयमा, देशका युवाहरुलाई प्रोत्साहित गर्ने गरी भिजन ल्याउने विषय र हाम्रो आफ्नो स्थानको विषयमा छलफल गर्यौं । हामी यसरी फेरि भेटघाट हुन पाउँदा राम्रो लागेको छ, अनि नेपाल देशका नेता, जसप्रति मेरो चासो रहने गर्छ, उनलाई म कुनै काम वा विचार दिनमा सहयोगीसिद्ध हुन सकुँला, जय नेपाल !’