गगन थापा र योगेश भट्टराईको एउटै मत !
काठमाडौं- मेडिकल कलेजको मनपरिविरुद्ध सांसद गगन थापा र योगेश भट्टराईले आवाज उठाएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सांसद गगन थापाले चिकित्सा क्षेत्रको विकृतीको विषयमा खबरदारी जारी रहने बताएका छन्।
उनले मेडिकल कलेजमा भइरहेको अनियमितता बारे सरकारले के कस्तो कारबाही गरिरहेको छ भन्ने विषय जानकारीको माग राख्दै सदनमा सार्वजनिक महत्वको प्रश्न र समितिमा छलफलका लागि आग्रह गरेको समेत जनाएका छन्।
‘मेडिकल कलेजमा भइरहेको अनियमितता बारे सरकारले के कस्तो कारबाही गरिरहेको छ? सम्मानित सदनमा जानकारीको माग राख्दै सार्बजनिक महत्वको प्रश्न र समितीमा शिघ्र छलफलको आग्रह गरेको छु। संघर्षरत विद्यार्थीलाइ न्याय दिलाउन र उत्तरदायी सरकारका लागी खबरदारी जारी रहनेछ’ उनको ट्वीटमा उल्लेख छ।
सांसद थापाले गैरकानुनी काम गर्ने मेडिकल कलेजलाई तत्कालै कारबाही गर्नु पर्ने विषयमा सोमबार पनि आफ्नो धारणा सार्वजनिक गरेका थिए।
यस्तै, सांसद योगेश भट्टराईले पनि ट्वीट गर्दै मेडिकल कलेजको छानबिनको माग गरेका छन्। उनले गलत धन्दामा लागेका मेडिकल कलेजको सम्बन्धन खारेजको माग पनि गरेका छन्।
‘प्रमज्यू तपाईंको अध्यक्षमा रहेको चिकित्सा शिक्षा आयोग मार्फत सबै मेडिकल कलेजको छानबिन गरियोस । गलत धन्दामा लागेका कलेजको सम्बन्धन खारेज गरियोस । बिद्यार्थी र अबिभाबकलाई तनाबबाट मुक्त गरियोस’ योगेशको ट्वीटमा उल्लेख छ।
राष्ट्रिय चिकित्सा शिक्षा ऐनमा प्रधानमन्त्रीको अध्यक्षतामा चिकित्सा शिक्षा आयोगको व्यवस्था गरिएको छ।
चिकित्सा शिक्षा ऐनका कतिपय बुँदामा गगन र योगेशबीच फरक धारणा छ। तर मेडिकल कलेजको विकृती अन्त्य गर्दै दोषीलाई कारबाही गर्ने कुरामा भने उनीहरुबीच समान धारणा आएको छ।