मन्त्रीज्यु लाज पचेपछी जे बोलेपनि हुन्छ ?
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्ती रघुवीर महासेठले लाजै पचाएर सिन्डिकेटको व्यवस्था तोड्न आफू पूर्ण रूपमा सफल भएको दाबी गरे । जबकि सिन्डिकेट खारेज गर्ने भनेर ताण्डव गरेको एक वर्ष भइसक्यो, कैयौँ व्यवसायीलाई धरपकड समेत गरियो, तत्काल अपराधी घोषणा गरेर फरार सुचीमा राख्ने तयारी भयो तर हात्ती आयो हात्ती आयो फुस्स ।
अहिलेसम्म सिन्डिकेटबाट जनताले न उन्मुक्ति पाए, न यातायात समितिहरूलाई कम्पनीको मापदण्डमा ल्याउन सक्यो सरकारले ।
सुरुवातमा सिन्डिकेट खारेज गर्ने भनेर गृहमन्त्री बादलले घोषणा गर्दा महासेठ सिन्डिकेटको पक्षमा खुलेरै लागे, यतिसम्म कि मन्त्रालयमा बादल र महासेठको घमासान भयो । हात हालाहाल मात्र नभएको त्यो घटनाको चर्चा बजारमा फैलियो ।
त्यति बेला कुनै अमुक व्यवसायीलाई सघाउनलाई गरिएको त्यो ताण्डवले अहिले सर्वसाधारणले रत्नपार्क र भृकुटीमण्डप जस्ता चोकहरूमा कुकुरले नपाएको दुख खेपिरहेका छन् । हरेक साँझको समयमा त्यहाँ सर्वसाधारणको पिडा देख्दा झलझली सिन्डिकेट हटाउने भनेर गरेको तत्कालीन ताण्डव, बादल र महासेठ झलझली याद आउँछन् ।
मन्त्री महासेठले आफ्नो पहिलो वर्षको कार्यकालको समीक्षा गर्दै सिन्डिकेट हटिसकेपनि धेरै मानिसहरूले सिन्डिकेटलाई आ-आफ्नै तरिकाले व्याख्या गरेको भनेर आरोप समेत लगाए, उनलाई लाग्दो हो अरूलाई आरोप लगाउँदैमा सत्य छोपिन्छ भन्ने तर सत्य छोपिएको छैन, काम गर्न नसकेर, यातायात व्यवसायीको चंगुलमा फसेर बाहिर निस्कन नसकेको छरपस्ट भैसकेको छ ।
केहिदिन अगाडी मात्र कम्पनीमा आउन म्याद थपिएको छ त्यो पनि पटक पटक भैसक्यो, अहिले त झन् यता न उताको समस्या मात्र छ ।
राजधानीका सवारी साधनमा हुने भिड त्यो भन्दा बढी छ, सिन्डिकेट हटाउने भनेर केही माइक्रोको रुट समेत खारेज गरेपछि यात्रुलाई पर्नुसम्मको मार परेको छ । व्यवसायीले गर्ने मनोमानी गरेकै छन्, सार्वजनिक सवारीले नियम मान्दैनन् । एनजिओ जसरी चलेका सवारीसाधन सञ्चालन समितिहरू एकाध मात्र कम्पनीमा गए त्यो पनि देखाउने दाँत मात्र भएको छ ।
के यही हो त मन्त्रीज्यु सफलता ?