प्रधानमन्त्रीको विमान ‘होल्ड’ गराउनेमाथि कारवाही - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

प्रधानमन्त्रीको विमान ‘होल्ड’ गराउनेमाथि कारवाही



प्रधानमन्त्री केपी शर्मा ओली चढेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा होल्ड गराएको भन्दै सम्बन्धित निकायका कर्मचारीलाई विभागीय कार्वाहीको सिफारिस गरिएको छ।

गत फागुन २१ गते झापाबाट काठमाडौं फर्किने क्रममा प्रधानमन्त्री ओली चढेको यति एयरको विमान अवतरणका क्रममा आकाशमा ८ मिनेट होल्ड गर्नुपरेको थियो।

प्रधानमन्त्री चढेको विमान होल्ड सम्बन्धमा छानबिन गर्न फागनु २३ गते छानबिन समिति गठन गरिएको थियो। छानबिन समितिले सोमबार प्रधानमन्त्री कार्यालयमा प्रतिबेदन बुझाएको हो।

यति एयरलाइन्सको सो विमानमा ‘भीभीआईपी’ रहेको जानकारी हुँदाहुँदै किन होल्ड गरियो भन्नेबारे छानबिन गरिएको हो।

छानबिन समितिको प्रतिवेदन अनुसार भीभीआइपी उडानमा विमान कम्पनीको गौरजिम्मेवारीपूर्ण व्यवहार भएको भन्दै विभागीय कारबाहीको सिफारिस गरिएको छ। उक्त होल्ड प्रकरणमा सबैभन्दा बढी गल्ती सम्बन्धित विमान कम्पनीको भएको छानबिन टोलीले निष्कर्ष निकालेको छानबिन समितिका एक सदस्यले बताए।

यति एयरलाइन्स कम्पनी, उक्त विमानका पाइलटले आफ्नो जिम्मेवारी अनुसारको काम नगरेको भन्दै विभागीय कारवाहीको सिफारिस गरिएको छ। एयरलाइन्ससँगै चन्द्रगढी विमानस्थल कार्यालय, त्रिभुवन विमानस्थल कार्यालयको पनि गल्ती भएको जनाइएको छ। प्रतिवेदनमा विमानस्थल कार्यालयको व्यवस्थापनमा कमजोरी देखिएको भन्दै उक्त समय ड्यूटीमा रहेका कर्मचारीलाई समेत कारवाहीको सिफारिस गरिएको छ।

प्रतिवेदनमा कारबाहीको सिफारिसका साथमा विमानस्थल कार्यालयले आगामी दिनमा गर्नुपर्ने सुधारका कामहरु समेत निर्धारण गरिएको छ।

प्रधानमन्त्री आउने समयमा जानकारी पाएर पनि औपचारिक जानकारी नभएको भन्दै एयर ट्राफिक कन्ट्रोलर समेतले चासो नदेखाएको, विमानस्थलका महाप्रबन्धक राजकुराम क्षेत्रीले प्रधानमन्त्रीको उडान र अवतरण गर्ने स्थानसम्म जाँदा समेत टावरलाई औपचारिक जानकारी नदिनु गम्भीर गल्ती भएको छानबिन समितिको निष्कर्ष छ।