देउवा र पौडेलले टिकट बेचेर पैसा बाँडेको खुलासा
काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमरेशकुमार सिंहले गत निर्वाचनका बेला पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले टिकट वितरणबाट प्राप्त भएको पैसा आधा-आधा बाँडेको आरोप लगाएका छन्।
राजधानीमा नेपाली कांग्रेसको सर्लाही-काठमाडौं सम्पर्क समितिले गरेको कार्यक्रममा बोल्दै सिंहले प्रदेश २ मा टिकट वितरणमा पूरै आर्थिक चलखेल गरेको बताए। प्रदेश २ को एक निर्वाचन क्षेत्रका उम्मेदवारको नाम नलिई उदाहरण दिँदै उनले भने, ‘उसलाई टिकट दिनै हुने थिएन। ६० लाख टिकटको मूल्य तोकिएछ। उसलाई टिकट दिन हुन्न भनी रामचन्द्र पौडेललाई सम्झाएको थिएँ, उनले देउवासँग ३० लाख रुपैयाँ लिएर टिकट दिन राजी भएछन्।’
पौडेलप्रति आक्रामक देखिकएका सिहंले भने, ‘उनी लोभी बाहुन हुन्।’देउवाको कार्यशैली र प्रधानमन्त्रीत्वकाल स्मरण गर्दै सिंहले देउवाले कांग्रेस कमजोर बनाएको आरोप लगाए। देउवाले दुई पटक राजालाई, एक पटक राप्रपा र एक पटक ओलीलाई सत्ता सुम्पने अवस्थामा पुर्याइ कांग्रेस कमजोर बनाएको आरोप लगाए।
देउवा, पौडेल र उपसभापति विमलेन्द्र निधिप्रति खनिएका सिंहले प्रदेश २ मा नेपाली कांग्रेसलाई निधिले कमजोर बनाएको आरोप लगाए। गत निर्वाचनको बेला गृहमन्त्री रहेका निधिले शक्तिको दुरुपयोग गरी आफूमाथि आक्रमण गरेको उनले खुलाए। उनले भने, ‘मेरो टेलिफोन लाइन पनि काटियो। सभापति र उपसभापति मलाई सकाउन खोजेका छन्।’
शीर्ष तहका नेतालाई सिंहले सेतो हात्तीको संज्ञा दिए। सेतो हात्तीलाई कांग्रेसले अब पाल्न नसक्ने उनको धारणा थियो। ‘निश्चित उमेर भएपछि जागिर छोड्ने व्यवस्था छ।, तर नेताहरु समय पुगे पछि किन छोड्दैनन्?’ उनले प्रश्न राखे। नेताहरुमा बढेको आर्थिक हैसियतप्रति संकेत गर्दै उनले आर्थिक खोजबिन हुनुपर्ने धारणा राखे।
महामन्त्री डा शशांक कोइराला प्रमुख अतिथि रहेको कार्यक्रममा कोइरालाको पनि आलोचना गर्न बाँकी राखेनन् सिंहले। उनले भने, ‘महामन्त्री बोल्नुहुन्न। नबोल्नु अझ ठुलो गल्ती हो।’
सिंहले त्यसो भनिरहँदा कोइराला उनीतिर फर्केर मुसुमुसु हासी मात्रै रहे। बिपीको छोरो भएपछि बाउको सपना पूरा गर्ने दायित्व महामन्त्रीको पनि भएको उनको भनाइ थियो। कोइरालालाई भने, ‘महामन्त्री अघि आउनुपर्छ, यस्तै अवस्था रहे सभापतिसँगै कलंकको टीका तपाइलाई पनि लाग्छ।’
लोकतन्त्र सकिसकेको दाबी गर्दै उनले कांग्रेसको नेता सुतिरहेको भन्दै असन्तोष प्रकट गरे। अराजक र भ्रष्टाचार नेकपासँगै काँग्रेस पनि फसेको उनको भनाइ थियो। उनले भने, ‘भ्रष्टाचारको दलदलमा मुलुक फसेको छ। किन काँग्रेस बोल्दैन? किनकि कांग्रेसका नेता पनि संलग्न छन्।
सिंहले पार्टीमा ठेकदार प्रथा हाबी भएको छ। तर, महामन्त्री बोल्नुहुन्न। नबोल्नु नै अर्को गल्ती हो। बिपीको नाम बेचेर ब्याज खान अब नपाइने भन्दै नेताहरुलाई सचेत बनाए।
विगतका निर्वाचनमा आफूलाई टिकट नदिन देउवाले हरसम्भव प्रयास गरेको बताए। टिकट नदिन खाज्नुको कारण खुलाउँदै भने, ‘म ‘यस म्यान’ बन्न सक्दिन।’ पञ्चायती प्रवृत्तिका व्यक्ति सभापतिको रोजाइमा पर्ने उनको मूल्यांकन थियो। पार्टीलाई देउवा पत्नि आरजु राणाले चलाएको उनको आरोप थियो।
गत निर्वाचनमा कांग्रेसको चुनाव चिन्हको खोजी भएको स्मरण गर्दै भने, ‘हँसिया-हथौडा, हलो, आँखामा भोट हाल्न पर्यो। हाम्रो चुनाव चिन्ह के हो?’
अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारी पनि शीर्ष नेतामाथि नै खनिए। चुनावमा किन हारियो भन्न नपाइने? भन्दै देउवालाई प्रश्न गरेका उनले भने, ‘टिकट बिक्री भएको छ। गल्ती भएको छ। त्यसको जिम्मेवारी लिने कि नलिने?’ वर्तमान नेतृत्वले कांग्रेसलाई अघि बढाउनै नसक्ने दाबी भण्डारीको थियो।
दयनीय अवस्थाबाट पार्टीलाई पार दिलाएन पुरानो पुस्ताले विश्राम लिनुपर्ने उनले बताए। उनले भने, ‘कि त हामी बिदा हुने, कि उनीहरू बिदा हुने।’
महिला संघकी पूर्व अध्यक्ष मीना पाण्डले कांग्रेस भित्रै एक कार्यकर्ताले अर्कोको मुख हेर्दा अमिलो मुख हुने दुखद् परिस्थितिको अन्त्य हुनुपर्ने बताइन्। तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले पनि कांग्रेस कमजोर हुनुमा पार्टी सभापतिलाई नै दोष दिए। दुई वर्षसम्म तरुण दलले पूर्णता नपाउनु पार्टी सभापतिको कारण निकम्मापनले भएको दाबी गरे।
सर्लाही कांग्रेसका नेता लक्ष्मण रायले प्रदेश २ मा उपसभापति निधिविरुद्ध ‘जेहाद’ छेड्ने बताए।
सबैको कुरा सुनिसकेपछि अन्त्यमा बोलेका महामन्त्री कोइरालाले कसैलाई आरोप लगाउने पक्षमा आफू नभएको बताएका थिए। उनले भने, ‘मेरो काम गाली गर्ने होइन। मिलाउने हो।’
वक्ताहरुले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारमा उनलाई देख्न चाहेको बताएपनि उनले सभापतिको उम्मेदवार बन्ने/नबन्ने खुलाउन भने चाहेनन्। उनले भने, ‘सभापति पद फालेको जुत्ता हो।’
कोइराला पक्षका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति रहेको कार्यक्रमबाट केन्द्रीय सदस्य अर्जुननरसिंह केसी भने छिट्टै बाहिरिएका थिए।