गगन थापाको आरोप : केपी ओलीसँग देश चलाउने योग्यता छैन
जनकपुरधाम । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीसँग संघीय नेपाल चलाउने योग्यता नभएको बताएका छन् ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको दशौं केन्द्रीय परिषद भेला उदघाट्न कायैक्रममा बोल्दै नेता थापाले सरकारले गर्नुपर्ने काम नगरी अनावश्यक र नगर्नु पर्ने काम गरेको आरोप लगाउँदै यस्तो आरोप लगाएका हुन् ।
एक वर्षमा दुई तिहाई सरकारको उपलब्धि शून्य हुनु नै ओलीको क्षमता नरहेको उनको दाबी छ । नेता थापाले वर्तमान अवस्थामा नागरिकले सरकार भएको महसुस गर्न नसकेको टिप्पणी गरे ।
‘प्रधानमन्त्रीको सपनामा गरिब नागरिक छैनन्। उहाँको सपना पानी जाहाज, रेल र प्लेन चलाउने मात्र छ । बाँकी गरिब र विकट क्षेत्रका जनतालाई उहाँले बिर्सनु भयो’, नेता थापाले भने, ‘मुलुकको धेरै स्थानमा समान्य र अतिआवश्यक स्वास्थ्य सेवा औषधि चिकित्सक समयमै र्पुयाउन सकेको छैन, गुणस्तरीय शिक्षा दिन विद्यालयमा भौतिक पूर्वाधार र योग्य शिक्षक छैनन् । तर यसमा प्रधानमन्त्रीको चिन्ता छैन।’
नेता थापाले भ्रष्टाचार भएको प्रमाण सरकारले थाहा पाएपनि कारबाही गर्न नसकेको आरोप लगाए ।
‘भष्टाचारको कुरा आम नागरिकलाई थाहा छ तर सरकार मौन छ । हत्या बलात्कारका दोषीलाई सरकार समाउन सक्दैन’, थापाले भने, ‘पीडित न्याय माग्न सडकमा आउनुपर्छ, खोइ सरकारले जनतालाई सरकार भएको अनुभूति दिन सकेको ?’
जनता कम्युनिष्ट सरकारबाट सचेत हुनुपर्ने बताउंदै उनले ‘दुई तिहाईको पार्टीका दुई पाइलट एक जना संघीयता र अर्को लोकतन्त्रका विरोधी छन’, उनले भने ‘संघीयता र लोकतन्त्रको विमानलाई गम्भीर दुर्घटनामा पार्ने खतरा छ ।’
नेपाल विद्युत प्राधिकरण कर्मचारी संघका जनार्दन भटराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रामकृष्ण यादव , प्रदेश नं. २ संसदीय दलका नेता रामसरोज यादव लगायतले बोलेका थिए ।