नेकपाको चिरफार ! यस्तो छ अवस्था - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

नेकपाको चिरफार ! यस्तो छ अवस्था



काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुट उपगुटको जालोले घेरिन पुगेको छ । वरिष्ठ नेतादेखि मध्यम तहका नेताहरूसमेत गुट उपगुट बनाउन सक्रिय हुन थालेपछि पार्टी एकता प्रक्रिया पनि सकसमा पुगेको छ ।

तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा पार्टी एकता भएको १० महिना पुगिसकेको छ । यस अवधिमा गुट उपगुट तथा सहगुट हुँदै गुट बढ्ने क्रममा पनि वृद्धि आएको कार्यकर्ताको गुनासो छ । अधिकांश कार्यकर्ताले गुट उपगुटको स्वार्थकै कारण एकता अलमलमा परेको भन्दै आक्रोशसमेत पोख्न थालेका छन् ।

शीर्षस्थ नेतामाथि गुटलाई निराकरण गर्नभन्दा पनि उल्टै बढावा दिने काममा समेत तल्लीन हुन पुगेको आरोप लाग्दै आएको छ । गुट उपगुटकै कारण शीर्ष नेताहरूले आफू निकटलाई च्याप्ने र इतरलाई पाखा लगाउने योजनाका कारण भागबन्डामा समेत कुरा मिल्न सकेको छैन ।

आजको राजधानी दैनिक लेख्छ–नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालका प्रमुख तीन गुट सक्रिय रहेका छन् ।

यस्तै वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा, स्थायी कमिटीका सदस्य भिम रावल, मातृका यादव, वर्षमान पुन, टोपबहादुर रायमाझी, जनार्दन शर्माका छुटाछुटै उपगुटले समेत एकता प्रक्रियामा ढिलाइ भएको नेकपा स्रोतले जनाएको छ ।

महासचिव रहेका विष्णु पौडेलको आफ्नो छुटै उपगुट अस्तित्वमा छैन । उनी अध्यक्ष एवं प्रधानमन्त्री ओली निकटका नेताका रूपमा सक्रिय छन् ।