मधेशमै पूर्वराजाको जयजयकार देश बचाउन राजा गुहारे - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

मधेशमै पूर्वराजाको जयजयकार देश बचाउन राजा गुहारे



काठमाडौं– मधेशका अधिकांश ठूला नेताको गृहजिल्ला रहेको सर्लाही जिल्लामा आज ‘राजा आउ, देश बचाऊ ।’ ‘हाम्रो राजा, हाम्रो देश, प्राण भन्दा प्यारो छ’ भनि नारा घन्किरहँदा धेरैको मनमा कुरा उठिरहेको होला कठै मधेश ।

मधेश भ्रमणका लागि हिजो जनकपुर हुँदै आज सर्लाही पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा जनता ओर्लिदा लाग्दैन्थ्यो कि देशमा राजतन्त्र समाप्त भएर गणतन्त्र आएको हो । पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको तस्विर राखेर श्री ५ लेखेर सम्बोधन गरिएको ब्यानर जताततै झुण्ड्याइएको छ भने उनको स्वागतमा विभिन्न ठाउँ गरी १२ ठाउँमा प्रवेशद्धार नै बनाएको छ ।

सडकको दुईतिर उभिएर ‘राजा आउ, देश बचाउ नारा’ लगाउँदा राजतन्त्रको झझल्को दिइरहेको थियो । केन्द्रमा पार्टीमा नेतृत्वमा सबभन्दा बढी मधेशी नेता सोही जिल्लाबाट रहेका छन् ।

राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महेन्द्रराय यादव, अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, नेपाली जनता दलका अध्यक्ष हरिचरण साह, नेकपाका सदस्य एवम् सांसद रामेश्वर राय यादव लगायतका नेताहरु त्यहीका हुन् । तैपनि त्यहाँका जनताको रुझान पूर्वराजा ज्ञानेन्द्रप्रति यति देखिएको छ ।

त्यहाँका स्थानीय पत्रकार मनोज यादव भन्छन्, ‘यतिको मान्छे उपस्थित हुन्छ भने लागेको थिएन, धेरै मान्छे त राजा ज्ञानेन्द्रलाई हेर्नका लागि पनि आएका थिए भने कतिपयले ब्यानर नै बोकेका थिए ।’

मलङ्गवाको भगवती मन्दिरमा उनी सात मिनेट पुजा गरेर उनी त्यहँको जानकी फ्यामिली एण्ड पार्टी प्यालेसमा विश्रामका लागि फर्केका छन् । त्यहाँ उनले विभिन्न राजनीतिक दलका नेता तथा समाजसेवीसँग भेटघाट पनि गरिरहेका छन् ।

सर्लाहीबाट उनी आजै जनकपुर फर्किने कार्यक्रम रहेको छ । जनकपुरबाट उनी उदयपुरको गाइघाट जानेछन् ।