एक हप्तादेखि जारी बन्द फिर्ता - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

एक हप्तादेखि जारी बन्द फिर्ता



हिमाल पोष्ट / बुटवल , मंसिर २१। एक हप्तादेखि जारी रुपन्देही बन्द फिर्ता भएको छ। नेकपा एमाले लगायतका दलहरुले गत बुधबारदेखि गर्दै आएको रुपन्देही बन्द फिर्ता लिएका हुन्।

जिल्लामा आन्दोलन सञ्चालन गर्दै आएको संघर्ष समितिले आन्दोलनका स्वरुप बदलेको बताएको छ। २६ गतेसम्मका लागि अन्य संघर्षका कार्यक्रम गर्ने निर्णयसहित बन्दको कार्यक्रम फिर्ता लिएको एमाले केन्द्रीय सदस्य लिला गिरीले जानकारी दिए।

संशोधन प्रस्ताव संसदमा पेश नगर्दासम्म विरोध सभा, जुलुस निकाल्नेलगायतका कार्यक्रम भने जारी रहने उनले बताए। कपिलवस्तुमा पनि बन्द फिर्ता भएको छ। चार नम्बर जितपूरमा बसेको संयुक्त बैठकले बन्द हडतालका कार्यक्रम फिर्ता गर्दै शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको संघर्ष समितिका संयोजक झविलाल पोखरेलले बताए।

सरकारले प्रदेश नम्बर ५ का पहाडी र मधेसका जिल्ला अलग गर्ने प्रस्ताव सहित संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि लुम्बिनी अञ्चलका जिल्लाहरुमा बन्द लगायतका विरोध कार्यक्रम हुँदै आएको थियो। यसअघि सोमबार अर्घाखाँची बन्द फिर्ता लिइएको थियो।