कैलालीमा देशकै सबैभन्दा बढी वन तस्करी र अतिक्रमण - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

कैलालीमा देशकै सबैभन्दा बढी वन तस्करी र अतिक्रमण



कैलालीमा मुलुककै सबैभन्दा बढी वन तस्करी र अतिक्रमण हुने गरेको तथ्याङ्कले देखाएको छ । कैलालीमा वनको जिम्मेवारी सम्हाल्न आउने प्रत्येक कर्मचारीले वन तस्करी र अतिक्रमण रोक्ने प्रण गर्छन् । तर ब्यबहारतः तस्स्करी मौलाउँदै गएको छ । एक तथ्याङ्कले देशमै सबैभन्दा बढी ३० हजार हेक्टर वन कैलालीको अतिक्रमणमा परिसकेको छ । अवैध काठ तस्करी हुनेमा पनि कैलाली शिक्र्ष स्थानमै पर्छ ।

अतिक्रमण मात्र होइन वनकर्मी, सामुदायिक वनका पदाधिकारी र केही राजनीतिकर्मी मिलेर वनको जग्गा बिक्री पनि गरिरहेको विवरण आइरहन्छन् ।
प्रदेशको अस्थायी मुकाम धनगढी बजार क्षेत्रका सबैजसो खोलानाला, सार्वजनिक जग्गा अतिक्रमण भइसकेका छन् ।

चुरे पहाडसँग जोडिएका कैलालीका अधिकांश क्षेत्रमा काठ तस्करी मौलाउँदो छ । इलाका र सेक्टर वन कार्यालयका कर्मचारीकै मिलेमतोमा वनबाट काठ तस्करी मौलाएको हो । विभिन्न सामुदायिक वनका पदाधिकारी, स्थानीय जनप्रतिनिधि समेतको मिलेमतोमा काठका ठेकेदारले रातारात वन सखाप पारेका छन् । कमिसनको जालो वन रक्षक देखि इलाका,सेक्टर हुँदै डिभिजनसम्मका हाकिमसम्म पुग्ने गरेको स्थानीयको दाबी छ ।

पूर्वको चिसापानी देखि पश्चिमको अत्तरियासम्मको पूर्व पश्चिम राजमार्गमाथि चुरे क्षेत्रमा व्यापक वन तस्करी हुँदा समेत जिल्ला वन कार्यालय निरीह बनेको छ । कतिपय अवस्थामा वन तस्करीमा संलग्न केही व्यक्ति पक्राउ परेपनि राजनीतिक दबाब र आर्थिक चलखेलमा छुट्ने गरेका छन् । सामान्य तस्करीमा एक लाख देखि ठुलो तस्करीमा १० लाखसम्म रकम बुझाएर तस्करहरू उम्किने गरेको एक स्थानीयले दाबी गरे ।

कैलाली जिल्लाको कुल क्षेत्रफल ३ लाख २८ हजार ५ सय ५२ हेक्टरमध्ये २ लाख ५ हजार ९ सय ३९ हेक्टर वन क्षेत्र रहेको छ । जसमध्ये आबादी तथा खेतीयोग्य जमिन ९८ हजार हेक्टर छ ।

यो पनि पढ्नुहोस :

तस्करलाई उन्मुक्ति, पैसाको बार्गेनिङ गर्दै वन कर्मचारी