सामाजिक सञ्जालमा राष्ट्रपति सवारीको बिरोध
काठमाडौँ । मंगलबार साँझ करिब साढे ६ बजे महानगरीय ट्राफिक प्रहरी कार्यालयले एउटा सूचना जारी ग–यो, जसमा भनिएको थियो –
‘अबको केही समयमा विशेष कारणवश शीतल निवास, पानीपोखरी, लैनचौर, केशरमहल, महेन्द्र शालिक, भद्रकाली हुँदै चल्ने सवारी साधनहरु एकतर्फी रुपमै प्रभावित हुनेछन् । सो रुटमा संचालन हुने सवारी साधनहरुको वैकल्पिक मार्गको प्रयोग गर्नहुन अनुरोध गरिन्छ ।’
महानगरीय ट्राफिक प्रहरीले कारण नखुलाएपनि राष्ट्रपति भण्डारी सैनिक मुख्यालय भद्रकालीमा आयोजना भएको रात्रीभोजमा सवारी हुने कार्यक्रम थियो ।
राष्ट्रपति उपत्यकाका कुनै पनि स्थानमा सवारी हुँदा एकतर्फी बाटो रोक्ने गरिन्छ भने औपचारिक भ्रमणमा निस्किएका बेला दुइतर्फी बाटो रोकिन्छ ।
अरुबेला दुःख र सास्ती खेपेपनि जनताहरु भीभीआइपीको सवारी नहुञ्जेल कुरेरै बसिरहेका हुन्थे । ट्राफिक प्रहरीले ‘जाउ’ नभनेसम्म ट्वाँ परेर हेर्न बाध्य हुन्थे तर मंगलबार साँझ भने लैनचौरमा फरक दृश्य देखिएको छ । यो घटनाको भिडियो फेसबुकमा पनि निकै चर्चाको विषय बनेको छ ।
उक्त भिडियो अनुसार ४० मिनेटदेखि ट्राफिकले बाटो रोकेका थिए । भिडियोमा देखिए अनुसार सबैले हर्न बजाएर बाटो रोकेको विद्रोह गर्छन् । तर त्यसको केही समयमा नै ट्राफिक प्रहरीको आदेश लत्याउँदै मोटरसाइकलहरु अगाडि बढ्छन् । ट्राफिक प्रहरीले रोक्न खोज्छन् तर सबैलाई रोक्ने कसरी ?
यो घटना सामाजिक संजालमा अहिले चर्चाको विषय बनेको छ ।