अपडेट : पर्यटनमन्त्री अधिकारीसहित सबैको निधन - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

अपडेट : पर्यटनमन्त्री अधिकारीसहित सबैको निधन



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

ताप्लेजुङमा दुर्घटनाग्रस्त हेलिकाेप्टरमा सवार ७ जनाकाे शव फेला परेकाे छ। फुङलिङ नगरपालिका-१०, काफ्लेपाटीमा भएकाे दुर्घटनास्थलमा ७ जनाकाे शव फेला परेकाे हेली साेसाइटीका एक प्रतिनिधिले पुष्टि गरेका हुन्।

फुङलिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई ‘तारा’ले पनि ७ जनाकै शव फेला परेकाे पुष्टि गरे।

‘दुर्घटना भएकाे जानकारी मिल्नासाथ हामी साे स्थानतर्फ जाँदैछाैं’, उपप्रमुख  भट्टराईले भने, ‘दुर्घटना स्थलमा पुगेका स्थानीयले ७ जनाकाे शव भेटिएकाे पुष्टि गरेका छन्।’

उनका अनुसार दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउँपािलकाकाे सीमा क्षेत्रमा पर्छ। उनले भने, ‘साे क्षेत्र प्रशिद्ध तिर्थस्थल पाथीभराकाे नजिक रहेकाे छ।’

अहिले घटनास्थलतर्फ जिल्लास्थित सरकारी अधिकारी तथा प्रहरीसहितकाे उद्दार टाेली पुग्दै गरेकाे उनले बताए।

‘हाल ताप्लेजुङमा कुहिराे लागिरहेकाे र पानी पनि परिरहेकाे छ’, भट्टराईले भने।

ताप्लेजुङमा एयर डाइनेस्टीकाे हेलिकाेप्टर दुर्घटनाकाे विमानस्थल कार्यालयलेसमेत पुष्टि गरेकाे छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकाेप्टरमा सवार थिए।

कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो।

मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए। हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।