घोडाघोडीमा विकासे योजनाको अनुगमन ,सुचना बोर्ड बिना नै योजना निर्माण
समितिका अध्यक्ष भन्छन् , ‘सूचना बोर्ड नभएपनि काम स्टिमेट अनुसार गरेका छौं ‘
विशाल पाण्डेय / सुखड,कैलाली ।
घोडाघोडी नगरपालिकाका उप प्रमुख तथा योजना अनुगमन समितिका संयोजक प्रेम कुमारी थापाको संयोजकत्वमा नगरका विभिन्न आयोजनाहरुको अनुगमन गरिएको छ ।
बिहीबार घोडाघोडी नगरपालिकाका वडा नं १ र ३ मा भएका विभिन्न विकासका आयोजनाहरुको अनुगमन गरिएको हो । अनुगमनका क्रममा नगरका अधिकांश बिकासका योजनाहरु सुचना बोर्ड बिना नै निर्माण कार्य सम्पन्न गरिएको पाइएको छ ।
आयोजनाको नाम , सुरु गरिएको मिति, सकिने मिति , लागत बजेट लगाएतका अन्य कुराहरु उल्लेख गरि पारदर्शीताको लागि सुचना बोर्डको आवश्यकता पर्ने भएपनी घोडाघोडी नगरपालिकाका अधिकांश योजनाहरु सुचना बोर्ड बिना नै सम्पन्न गरिएको छ ।
सुचना बोर्ड बारे आफुहरुले सुरुमै जानकारी दिदा पनि उपभोक्ता समितिहरुले अटेरी गरेको घोडाघोडी नगरपालिकाका सब इन्जिनियर बिष्णु न्यौपानेले बताए । आयोजनाको नाम , लागत लगायतका अन्य कुराहरु समाबेश गरेको सूचना बोर्ड बनाउन भनिएपनि काम सम्पन्न गरि सकेपछि मात्र पास नहुने भन्ने डरले फाइलमा सूचना बोर्डको फोटो हालेर ल्याउने गरेको बताए । आयोजनाको पारदर्शिताको लागी पनि महत्त्वपूर्ण हुने हुँदा सुचना बोर्ड बनाइ काम सुरु गर्न उपभोक्ता समितिलाई जानकारी गरेको समेत न्यौपानेले बताए ।
यता उपभोक्ता समितीका अध्यक्षहरुले भने आफुहरुले सुचना बोर्डको बारेमा थाहा नपाएको र बनाएको सुचना बोर्ड पनि चोरी हुने हुँदा आफुहरुले अन्तिममा सुचना बोर्ड बनाउन दिइएको बताएका छन् । सूचना बोर्ड नराखिएपनि काम स्टिमेट र पारदर्शी तरिकाले नै गरेको शृष्टि नगर सडक ग्राइभेल आयोजनाका अध्यक्ष गणेश बिष्टले बताए ।
त्यस्तै अनुगमनका क्रममा सुखड – भजनी सडकको ४४५ मिटर लम्बाइ र १३ मिटर चौडाइ पिच सडकको पनि अनुगमनका गरिएको छ । अनुगमनका क्रममा उक्त सडकमा चिप्सहरु उक्किएको पाइएको छ । चिप्सहरु उक्किएको पाइएपछि विटोमिन छर्किएर माथीबाट तातो बालुवा हाल्न निर्देशन दिएको घोडाघोडी नगरपालिकाका सब इन्जिनियर बिष्णु न्यौपानेले बताए । न्यौपानेले चिप्सहरु उक्किएर बर्खा समयमा सडकमै पानी जम्मा भइ पिच उक्किने डर हुने हुँदा बिटामिन छर्किएर पुनः तातो बालुवा हालियो भने केही मात्रामा सुधार हुने बताए । सुखड – भजनी ४४५ मिटर सडक निर्माण गरेको जे.बि.निमार्ण सेवा पहलमानपुरका प्रतिनिधिले भने आफुहरुले स्टिमेट अनुसार काम गरेको बताएका छन् ।
साथै घोडाघोडी नगरपालिका -३ मा रहेका बिकासे योजनाहरुको पनि अनुगमन गरिएको छ । शृष्टि नगर सडक ग्राइभेल आयोजनाको अनुगमनका क्रममा करिब १०० मिटर लम्बाई ग्राइभेल सडक कम निर्माण गरिएको पाइएको छ । उक्त नपुगेको सडकमा १०० मिटर सडक ग्राइभेल हाली रोलर लगाउन निर्देशन दिएको नगरपालिकाका सब इन्जिनियर न्यौपानेले बताए । नगरपालिकाको १० लाख र जन श्रमदान २ लाख ५० हजार गरि कुल १२ लाख ५० हजार रुपैयाँमा ग्राइभेल सडक निर्माण गरिएको हो ।
त्यस्तै घोडाघोडी नगरपालिका वडा नं ३
जुरपानीमा चौकिदारको घरदेखी प्रकाश चौधरीको घर हुँदै भोजपुर चोक सम्म माटो भटानी तथा ग्राइभेल सडक आयोजनाको पुनः अनुगमन गरिएको छ । यस अघि पनि अनुगमन गरि राम्रो संग ग्राइभेल हाली रोलर गर्न निर्देशन दिइएको र अहिले पहिला भन्दा केही सुधारिएको सब इन्जिनियर न्यौपानेले बताए । १५ सय मिटर लम्बाई र ५.५ मिटर चौडाई रहेको उक्त ग्राइभेल सडकका लागि घोडाघोडी नगरपालिकाले १० लाख तथा उपभोक्ता समितीद्बारा २ लाख ५० हजार गरि कुल १२ लाख ५० हजारमा निर्माण सम्पन्न गरेको उपभोक्ता समितिका अध्यक्ष छोटेलाल डगौरा थारुले जानकारी दिए ।
अनुगमनमा घोडाघोडी नगरपालिकाका लेखा अधिकृत देबराज जोशी , संबंधित वडाका वडाध्यक्ष, उपभोक्ता समितिको अध्यक्ष , स्थानिय बासिन्दा तथा पत्रकारहरुको सहभागीता रहेको थियो ।