करिब १ करोड ५० लाख लागतमा जडिबुटी प्रशोधन उद्योग संचालनमा
गोविन्द बीसी
बौनिया । कैलालीको लम्कीचुहा-८ गप्कामा करिब १ करोड ५० लाख लागतमा सगरमाथा जडिबुटी प्रशोधन उद्योग संचालनमा आएको छ ।
मंगलबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले उद्योगको उद्घाटन गरे । कार्यक्रममा राज्यमन्त्री रावलले औद्योगिक क्षेत्रको विकासबाट सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।
सुदूरपश्चिम प्रदेश समृद्धिको बाटोमा उन्मुख हुन
औद्योगिक क्षेत्रको विकासमा सबै लाग्नुपर्ने रावलले जोड दिए । प्रदेशमा रहेको जडिबुटीलाई सहि सदुपयोग गर्न सके सुदूरपश्चिम प्रदेश सम्बृद्धको बाटोमा उन्मुख हुन धेरै समय नलाग्ने उनको दाबी छ ।
लम्कीचुहामा सञ्चालनमा आएको जडिबुटी उद्योगले यस क्षेत्रका किसानलाई आयआर्जनमा बृद्धि गर्न सहयोग पुर्याउने मन्त्री रावलले विश्वास ब्यक्त गरे । उद्योग उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश सांसद रतन थापाले नयाँ कामको थालनी गर्दा सुरुमा केही जटिलता आएपनि पछिको लागि राम्रो हुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्य बहादुर थापाले यस क्षेत्रमा सञ्चालन जडिबुटी प्रशोधन उद्योग सञ्चालनमा आउनु खुसीको कुरा भएको बताउदै किसानको जिविकोपार्जनमा समेत सहयोग पुग्ने अपेक्षा लिएको बताए ।
यस्तै, लम्कीचुहा नगरपालिककाका नगर प्रमुख महादेव बजगाईले जडिबुटी उद्योगलाई अगाडी बढाउन आफूले सक्दो सहयोग गर्ने बताए । नगर प्रमुख बजगाईले उद्योगको स्थापनासंगै यसक्षेत्रको विकासमा एक ईट्टा थपिएको भन्दै उद्योगले जनतालाई प्रत्यक्ष लाभहुने गरी उत्पादनमुखी हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा किसान तथा सामुदायिक वन उपभोक्ता महासंघ सुदूरपश्चिम प्रदेशका सदस्य कोकिला देवलले वनमा खेर गैरहेको जडीबुट्टीलाई उद्योगले संकलन गरी खपत गरी दिए यसक्षेत्रका थुप्रै किसानले रोजगार पाउने बताइन् ।
बिभिन्न जडिबुटी तथा प्राकृतिक झारपातबाट आयुर्वेदिक तेल उत्पादन गर्ने प्रशोधन उद्योगको दैनिक ५ लिटरसम्म उत्पादन गर्ने क्षमता रहेको छ ।
उद्योगबाट मेन्था, केनामाईल, लिप्टिस लगायतका बिभिन्न जडिबुट्टीबाट प्रशोधित तेल निकाली देशका बिभिन्न भाग तथा विदेशमा समेत निर्यात गर्ने उद्देश्य रहेको सञ्चालक सदस्य खडानन्द सापकोटाले जानकारी दिए । फाइल तस्बिर :