प्रहरी–विद्यालय सम्पर्क समिति गठन - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

प्रहरी–विद्यालय सम्पर्क समिति गठन



गोविन्द बीसी / बौनिया ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रम लागू भएसंगै नेपाल प्रहरीले समुदाय र विद्यालय स्तरमा कार्यक्रम बिस्तार गर्न थालेको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर-३ मा रहेकोे जगदम्बिके भगवती माविमा बिहीबार प्रहरी–विद्यालय सम्पर्क समिति गठन गरिएको छ । ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाको आयोजना समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त समिति गठन गरिएको हो ।

‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले गएको कार्तिक महिनादेखि समुदाय-प्रहरी साझेदारी कार्यक्रम गरिरहेको छ ।

कार्यक्रममा प्रहरी निरीक्षक ध्रुव बहादुर बिष्टले स्थानीय तह र प्रहरी प्रशासनको सहकार्यमा समाजमा हुने अपराध नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारीको सुरुवात गरिएको जानकारी दिए । प्रहरी निरीक्षक बिष्टका अनुसार बर्दगोरिया गाउँपालिकामा समुदाय–प्रहरीपालिका समिति, समुदाय–प्रहरी वडा समिति, समुदाय–प्रहरी टोल समिति र प्रहरी–विद्यालय सम्पर्क समिति गरि २९ वटा समिति गठन गरिएको छ ।

उक्त कार्यक्रममा बिद्यालय शिक्षक, बिद्यार्थी, अभिभावक, बिद्यार्थी ब्यवस्थापन समिति र शिक्षक अभिभावक संघ पदाधिकारीको सहभागिता रहेको थियोे । नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ अभियान समय सापेक्ष सान्दर्भिक, फलदायी र शान्तिसुरक्षाका दृष्टिले उत्तम भएको कार्यक्रमका सहभागीले बताएका छन् ।
उनीहरूले प्रहरीसंग समन्वय गरि काम गर्ने अवसर पाइने भएको भन्दै धन्यवाद र खुसी व्यक्त गरे ।

अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहित समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने प्रहरी निरीक्षक बिष्टले बताए ।
लागुऔषध दुर्व्यसनीमा अहिले प्रायःजसो यूवा पिढी नै संलग्न देखिएकाले यसलाई कसरी नियन्त्रण र रोकथाम गर्न सकिन्छ ? समुदाय-प्रहरी बीच सहकार्य आवश्यक भएको प्रहरी निरीक्षक बिष्टले बताए । प्रहरीले मात्रै अपराध नियन्त्रण गर्न नसक्ने भन्दै समुदाय र प्रहरी दुबै मिलेर मात्र अपराध नियन्त्रण र न्यूनीकरण गर्न सकिने बिष्टको भनाइ रहेको थियो ।

नागरिककोे सुरक्षा सम्बन्धिका कुनैपनि समस्या भएमा नजिकको प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन प्रहरी निरीक्षक बिष्टले आग्रह गरे ।
समाजमा भएका बिद्यमान कुरीति, कुप्रथा, लैंगिक हिंसा सम्बन्धि समस्या अन्त्य गर्न स्थानीय र अभिभावकको साथ र प्रतिबद्धता आवश्यक रहेको प्रहरी निरीक्षक बिष्टले बताए ।

कार्यक्रममा सहभागीले समुदायमा बालबालिका र यूवालाई दुर्व्यसनीबाट बचाउन र समस्या न्यूनिकरणका लागि प्रहरी र समुदाय बीच कसरी समन्वय गर्न सकिन्छ भन्ने विषयमा जिज्ञासा राखेका थिए ।

सो बिद्यालयको समुदाय प्रहरी साझेदारी समितिको अध्यक्षमा प्रअ नेत्र बहादुर खड्का रहेका छन् । खड्काको नेतृत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ ।
स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिने प्रहरीको अवधारणामा उल्लेख छ ।