विकासका लागि सबै एक जुट हुनुपर्नेः मन्त्रि रघुबिर महासेठ - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

विकासका लागि सबै एक जुट हुनुपर्नेः मन्त्रि रघुबिर महासेठ



लोकेन्द्र रावल / टीकापुर ।

टीकापुर महोत्सव २०७५ को शुक्रबार संघिय सरकारका भौतिक निर्माण तथा यातायात मन्त्री रघुबिर महासेठले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन गर्दै मन्त्री रघुबिर महासेठले बिकासका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताउनु भयो । ‘४ साल अझैं बाकी रहेको छ यो समयमा विकासको लागि सबै एक जुट भएर लागे सिंगै नेपालको बिकास गर्न सकिन्छ ।’ मन्त्री महासेठले भन्नुभयो ।

सेति राजमार्ग संघीय सरकारले बनाउछ भन्दै मन्त्री महासेठले संघीय सरकारले सेति राजमार्गको लागि ४२ करोड रुपैया छुट्याएको जानकारी गराउनुभयो । उहाँले कैलाली जिल्लामा बढि योजना दिएको दाबी पनि गर्नुभयो ।

मन्त्री महासेठले टीकापुर क्षेत्रका जनतालाई आश्वासन दिने क्रममा भन्नुभयो ‘ टीकापुर हुँदै खक्रौला जाने सडक चार लेन सडक,टीकापुरदेखि डुडेझारी सडक पनि संघीय सरकारले यसैपाला देखि बनाउन शुरु गर्छ ।’
सनकट्टी घाटको पुलको लागि यसै आर्थिक मसान्तको बजेटमा आउने सप्ताहमा संघीय सरकारको बजेटमा राखेर बनाउने प्रतिवद्धता जनाउनु भयो ।

महोत्सव उद्घाटन समारोहमा संघले समाजका विभिन्न ६ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेमा सामाजिक अभियन्ता सुदूरपश्चिम प्रदेश साँसद उमादेवी बादी, शिक्षाविद प्रा.डा. जगतबहादुर सिँह रावल, सेपाक ताक्रोका अन्र्तराष्ट्रिय प्रशिक्षक अर्जुनबहादुर ठकुल्ला, व्यवशायी बाबुराम चौधरी, कलाकार भवानी रेग्मी र कृषक रामबहादुर कुँवर रहनु भएको छ । उहाँहरु सबैलाई दोसल्ला र सम्मान पत्र सहित सम्मान गरिएको हो ।

सुदूरपश्चिम प्रदेशका प्रतिपक्ष दलका नेता डाक्टर रण वहादुर रावलले संघिय सरकारले लम्की खक्रौला सडक खण्ड चार लेन निर्माण गर्न अति आवश्यक भएको बताउनुभयो । ‘ यो पटकको महोत्सवमा यस क्षेत्रको एउटा मात्र माग छ त्यो हो लम्की खक्रौला सडक चार लेन , प्रदेश सरकारले डिपिआर तयार पार्दै छ संघिय सरकारले बजेट दिए चाडै निर्माण गर्न सकिन्छ ।’ डाक्टर रावलले भन्नुभयो ,‘ विकासका लागि एकजुट भएर काम गर्नुपर्छ । ’ उहाले बर्तमान सरकारका काम कारबाही जनताका पक्षमा नभएको भन्दै सरकारको गतिबिधी निगरानीमा लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा पूर्व सभासद हरि ज्ञवाली, टीकापुर नगरपालिकाका मेयर तपेन्द्र वहादुर रावल, नेकपाका नेता सूर्यचन्द्र भट्टराई, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष नवराज रावल, राष्ट्रिय जनमोर्चाका नेता तिलक परियार र नेपाल रेडक्रस सोसाईटी उपशाखा टीकापुरका सभापति जगदिश्वर पण्डित लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । आयोजकले ‘ लम्की–खक्रौला सडक खण्ड चार लेन ’ एकसुत्रीय माग मन्त्री समक्ष राखेको छ ।
माग वाणिज्य संघका सदस्य नारायणप्रसाद न्यौपानेले वाचन गरेर सुनाउनुभएको थियो ।

टीकापुर उद्योग बाणिज्य संघका अध्यक्ष परशुराम चपाईको अध्यक्षता मा भएको कार्यक्रममा स्वागत टीकापुर उद्योग बाणिज्य संघका उद्योग तर्फका उपाध्यक्ष राजेन्द्र शाहले गर्नुभएको थियो । कार्यक्रम संचालन महासचिव रामबहादुर भण्डारीले गर्नुभएको थियो ।

महोत्सवमा २०० स्टल छन । महोत्सवस्थलमा थारु र मगर गाउ निर्माण गरिएका छन । यसका साथै महोत्सवस्थलमा कृषि प्रर्दशनी समेत सञ्चालन गरिएको छ । कृषि प्रदर्शनीमा यसक्षेत्रका किसानहरुले उत्पादन गरेका कृषि उत्पादनहरु राखिएका छन । महोत्सवमा विभिन्न संघसंस्थाले झाकी प्रदर्शन पनि गरिएका थिए । टीकापुर महोत्सव माघ २८ गतेसम्म चल्ने छ ।