तीन जिल्ला जोड्ने नेपालकै पहिलो झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ   - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

तीन जिल्ला जोड्ने नेपालकै पहिलो झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ  



काठमाडौं । नेपालकै पहिलो नमुना त्रिकोणात्मक झोलुङ्गे पुल निर्माण कार्यमा ढिलाइ भएको छ । धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको तीन जिल्ला जोड्ने झोलुङ्गे पुल निर्माणमा ढिलाइ भएको हो । आजको नेपाल समाचार पत्रमा खबर छ ।

गत २०७१ सालमा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयसँग निर्माण कम्पनीले तीन वर्षभित्र झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो । तर चार वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन ।

पाल्पा, गुल्मी र स्याङ्जाको संगमस्थल रिडीमा निर्माणाधिन त्रिकोणात्मक झोलुङ्गे पुल निर्माणको कार्यले गति नदिएकोप्रति स्थानीयले चिन्ता व्यक्त गरेका छन् । दुई नदीको संगमस्थल, रिडी खोला र कालीगण्डकीको संगमस्थलमा पुल निर्माण हुँदा तीन जिल्लाका बासिन्दालाई आवतजावत गर्न सहज हुनुका साथै पर्यकीय गन्तव्यका रुपमा समेत विकास गर्ने लक्ष्य सरकारले लिएको छ ।

नयाँ बाटो निर्माण सेवा प्रालि÷रुविना निर्माण प्रालि र मना कन्स्ट्रक्सन एन्ड विल्डर्स जेभीमध्ये मना कन्स्ट्रक्सन एन्ड बिल्डर्सले पुल निर्माणको जिम्मेवारी लिएको छ । पुल निर्माणमा ढिलासुस्ती गरेपछि सस्पेसन ब्रिज डिभिजनले केही समय अघि मात्र किन कारबाही नगर्ने भन्ने सूचना नै प्रकाशित गरेको थियो ।

सूचना प्रकाशित गरेर स्पष्टीकरण लिएसँगै एक वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले गरेको छ । मना कन्स्ट्रक्सन एन्ड विल्डर्सका सञ्चालक महेन्द्र अधिकारीले आगामी एक वर्षको अवधिमा पुल निर्माणको काम सम्पन्न हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्राविधिक कारणले समयमा पुल निर्माण हुन नसकेको हो, अब धमाधम काम भइरहेको छ एक वर्षभित्र सम्पन्न हुन्छ ।’