पत्रकार महासङ्घ नवलपरासीमा तालाबन्दी - Himal Post Himal Post
  • १ असार २०८३, सोमबार
  •      Mon Jun 15 2026
Logo

पत्रकार महासङ्घ नवलपरासीमा तालाबन्दी



हिमाल पोष्ट / कावासोती, १७ मङ्सिर । नयाँ साधारण सदस्यता वितरणमा तय गरिएको मापदण्ड विपरीत बलजफ्ती एकलौटी नयाँ साधारण सदस्यताका विषयमा निर्णय गरेको भन्दै पत्रकारसँग आबद्घ सङ्घसंस्थाले विरोध जनाउँदै नेपाल पत्रकार महासङ्घ नवलपरासीमा तालाबन्दी गरेका छन् ।

नयाँ साधारण सदस्यता वितरणमा नेपाल पत्रकार महासङ्घ नवलपरासीका कार्यबाहक अध्यक्ष एवम् छनोट समितिका संयोजक वीरेन्द्र पराजुलीले एकलौटी तरिकाले साधारण सदस्यता छनोट गरेको र कार्यसमितिले नयाँ सदस्यताको आवेदनमा छानबिन नै नगरी केन्द्रमा सिफारिस गरेको भन्ने विषयको विरोधमा नेपाल पत्रकार महासङ्घ नवलपरासी शाखामा तालाबन्दी गरिएको महासङ्घका जिल्ला कोषाध्यक्ष राजकुमार रेग्मीले बताउनुभयो ।

तेह्रजनाको कार्यसमिति बैठकमा छजनाले मात्रै सदस्यता विषयमा निर्णय गरेको र छनोट समितिलाई नयाँ आवेदनसमेत नदेखाइएको छनोट समिति सदस्य एवम् नेपाल पत्रकार महासङ्घ नवलपरासीका सदस्य बुद्धिसागर (सागर) पोखरेलले बताउनुभयो ।

नयाँ सदस्यता प्रदान गर्दा सबै प्रक्रियामाथि नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले छानबिन गरी वास्तविक पत्रकारलाई मात्र नयाँ सदस्यता प्रदान गर्न प्रेस चौतारी नेपाल नवलपरासी, प्रेस सेन्टर नेपाल नवलपुर, प्रेस सोसाइटी नवलपरासीले जोडदार माग गरेका छन् । रासस