महिलालाई उत्पादन र उद्यमसँग जोड्न खानेपानी मन्त्री बीना मगरको जोड
काठमाडौं । खानेपानी मन्त्री बीना मगरले महिलाहरुलाई उत्पादनमूलक कार्यमा अगाडि बढाउनुपर्नेमा जोड दिएकी छन् ।
नेपाल उद्यमशील महिला महासंघले राजधानीको भृकुटीमण्डपमा आयोजना गरेको ‘राष्ट्रिय उद्यमशील महिला मेला’को समापन गर्दै मन्त्री मगरले समृद्ध नेपाल निर्माणका लागि महिलाहरुको क्षमता अभिवृद्धि गर्न उत्पादनसँग जोड्नुपर्ने बइन् ।
उनले भनिन्, “पुरुषको तुलनामा महिलाहरुले बढी संघर्ष, मेहनत र त्याग गर्नुपर्छ । महिलाहरुमा केही गरौं भन्ने दृढ संकल्प हुन्छ । त्यही संकल्पले नै उनीहरुलाई सफल बनाउँछ । त्यसैले सबै मिली महिलाहरुलाई उद्यमी बनाउन हौसला प्रदान गरौं ।”
उनले यस्तो मेलालाई देशव्यापी बृहत बनाउन महोत्सवको रुपमा आयोजना गर्नुपर्ने धारणा राखिन् । महासंघकी अध्यक्ष देवकी बुढाथोकीले मुलूकको सामाजिक तथा आर्थिक रुपान्तरण गर्न महिला सशक्तीकरणको खाँचो रहेको र आर्थिक विकासका लागि घरेलु उद्योगमा लगानी बढाउनुपर्ने बताइन् ।
आन्तरिक उत्पादन प्रबद्र्धन गर्ने उद्देश्यले गत पुस ५ गतेबाट सुरु भएको मेला आइतबार सकिएको हो । मेलामा देशभरका महिला उद्यमीले उत्पादन गरेका जुत्ता चप्पल, खेलौना, झोला, टोपीसहितका हस्तकला वस्तु र प्राङ्गारिक कृषि उपज प्रदर्शन गरिएको थियो । देशका ४२ जिल्लामा सञ्जाल विस्तार गरेको महासंघमा हाल एक हजार २०० महिला उद्यमी सहभागी छन् । – एभरेस्ट दैनिकबाट