निर्मलामाथि फेरी जालझेल: सरकार र प्रहरीको नयाँ खेल - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

निर्मलामाथि फेरी जालझेल: सरकार र प्रहरीको नयाँ खेल



महेन्द्रनगर । बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका—२ की १३ वर्षीया निर्मला पन्तको हत्या भएकोे १३७ दिन बित्दासमेत हत्यारा पत्ता लागेको छैन ।

निर्मला हत्याकाण्डको अनुसन्धानको विषयलाई लिएर कञ्चनपुरलगायत देशैभर आन्दोलन चर्किँदै गएका छन् । घटनाका दोषीलाई चार महिनासम्म कानुनी दायरामा ल्याउन नसक्नु प्रहरी प्रशासनको लाचारीपन भएको भन्दै आएका स्थानीयले दिनहुँ आन्दोलन गर्दै आएका छन् ।

निर्मला पन्तको बलात्कार–हत्यामा संग्लन रहेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गत मंगलबार काठमाडौंबाट कञ्चनपुरको भीमदत्तनगर–१८ का २२ वर्षीय प्रदीप रावललाई र कञ्चनपुरबाट विशाल चौधरीलाई पक्राउ गरेकोे छ ।

हत्याको आशंकामा पक्राउ परेका दुई जनामाथि अनुसन्धान जारी छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंमै राखेर रावल र विशाल चौधरीमाथि अनुसन्धान जारी राखेको हो । हत्या भएको झन्डै चार महिनापछि प्रहरीले दोस्रोपटक निर्मला हत्याराको नजिक पुगेको बताइरहेको छ । तर, अनुसन्धान पूरा नहुन्जेल अहिल्यै केही भन्न नमिल्ने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बताउँदै आएको छ । प्रहरीले आन्तरिक रूपमा निर्मला हत्यामा प्रदीप र विशालकै संलग्नता रहेको निष्कर्ष निकालिसकेको बताइन्छ ।

प्रदीप र विशाल मिल्ने साथी हुन् उनीहरु दुवैले लागूपदार्थ सेवन गर्ने गरेका थिए । लागूपदार्थ सेवन गरेर बलात्कार गरेको पुष्टि गर्ने आधारहरु छन् । अहिले नै सबै कुरा खोल्न नमिल्ने प्रहरी स्रोतले दाबी गर्दै आएको छ । विशाल र प्रदीपको डीएनए परीक्षण रिपोर्ट भने आउन बाँकी छ । डीएनए रिपोर्ट आइतबार साँझसम्ममा आउन सक्ने नेपाल प्रहरीले जनाएको छ ।

हत्या घटनाको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार चेन अफ कस्टडी मेन्टेन गर्नका लागि कञ्चनपुरमै लगेर खोल्नुपर्ने हुन्छ । तर, त्यहाँबाट अनुमति लिएर यहीँ खोल्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ ।

सीआईबीको अनुसन्धानमा सोधपुछ गर्ने क्रममा निर्मला हत्यामा उनले आफ्नो संलग्नता स्विकार्दै थप दुई जना कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ सालघारीका विशाल चौधरी र दिनेश चौधरीलाई पक्राउ गरेको थियो । तर, पछि दिनेशको घटनामा संलग्नता नरहेको भन्दै उनलाई छाडिएको छ । घटनामा संलग्न एक जनाको अझै खोजी भइरहेको सीआईबी स्रोतले जानकारी दिएको छ ।

राष्ट्रिय मानवअधिकार परिषद्को टोली, नेपाल सरकारद्वारा गठित छानबिन समितिका संयोजक सहसचिव एवं कारागार व्यवस्थापन विभागका महानिर्देशक हरीप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिको टोली, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी अंगुर जिसी नेतृत्वको टोलीलगायत अन्य टोली पनि असफल बनेका छन् ।

घटनामा यसअघि संलग्न भनिएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्ट र निर्मला हत्याकाण्डका सूत्र मानिएका बम दिदीबहिनीहरु भीमदत्त नगरपालिका–२ का बबिता बम र रोशनी बमलाई कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको थियो ।

आन्दोलन चर्किएपछि ८ भदौ शुक्रबारका दिन नेपाल सरकारद्वारा गठित छानबिन समितिका संयोजक सहसचिव एवं कारागार व्यवस्थापन विभागका महानिर्देशक हरीप्रसाद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समिति महेन्द्रनगर पुगेको थियो । आन्दोलनले उग्र रूप लिएपछि आन्दोलनकारी र प्रहरीबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।

८ भदौ साँझ ट्राफिक चोकनजिक प्रहरीले चलाएको गोली लागेर कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ भगतपुर, शुभकामना टोलका १५ वर्षीय सन्नी खुनाले ज्यान गमाएका छन् । त्यसअघि गोली लागेर घाइते भएका महेन्द्रनगरका १७ वर्षीय अर्जुन भण्डाराको काठमाडौंमा उपचारका क्रममा दायाँ खुट्टा काट्नुपरेको छ ।
घुँडाभन्दा माथि खुट्टा काट्नुपरेको आफन्तले बताएका छन् । आन्दोलन नरोकिएपछि यहाँका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको ठाउँमा तारानाथ अधिकारी, एसपी डिल्लीराज विष्टको ठाउँमा कुवेर कठायत र डीएसपी ज्ञानबहादुर सेठीको स्थानमा कृष्णराज ओझालाई खटाइएको छ ।
शंकाको घेरामा प्रहरी

गत १० साउनमा साथी रोशनी बमको घरबाट घर फर्किरहेकी निर्मलाको ११ साउनका दिन बिहान उखुबारीमा शव भेटिएको थियो । हत्या भएको साढे चार महिना बित्दासमेत हत्यारा पत्ता नलाग्नु प्रहरीमाथि ठूलो प्रश्न चिह्न लागेको छ ।

निर्मला हत्याकाण्डमा गत ४ भदौमा प्रहरीले भीमदत्तनगर–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई पक्राउ गरेको थियो । तर, निर्मलाको शरीरबाट निकालिएको ‘स्वाब’सँग डीएनए नमिलेपछि उनी छाडिएका थिए । दिलीपलाई प्रहरीले नक्कली अभियुक्त बनाएको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो । आन्दोलनका क्रममा स्थानीय शनी खुनाको प्रहरीको गोली लागेर मृत्यु भएको थियो ।

तर, यता प्रदिप र विशाल पक्राउ परेपछि फेरि शंका उत्पन्न भएको छ । ९ साउन राति कञ्चनपुरको भीमदत्तनगर–१८ भगतपुरका पाले चौधरीको मासु पसलबाट कुखुरा चोरी हुन्छ । पाले चौधरीको उजुरी १० साउनमा अस्थायी प्रहरी चौकी सालघारीमा परेको थियो पाले चौधरीको उजुरीको आधारमा प्रहरीले स्थानीय प्रदीप रावललाई साढे १० बजेको समयमा पक्राउ गरेको थियो ।

प्रदीप रावलले आफूले कुखुरा नचोरेको र विशालले चोरेको हुन सक्ने बताएपछि प्रहरीले प्रदीपलाई साढे १० बजेदेखि ११ बजेको समयमा छाडेको थियो । १० गते साँझ ६ बजे आसपासको समयमा कुखुरा चोरेको आरोपमा स्थानीय विशाल चौधरीलाई प्रहरीले पक्राउ गरेको थियो ।

बेलुका ६ बजे पक्राउ परेका विशाललाई वडा प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो । ११ साउन बिहान ११ बजेसम्म पनि पाले चौधरीले प्रहरीमा सम्पर्क नगरेपछि विशाललाई प्रहरीले छाडेको थियो ।
१० साउनमा प्रदीप र विशाललाई प्रहरीले पक्राउ गरेको थियो । तर, सो दिन बिहान ११ बजेअघि नै प्रदीप छाडिएका थिए भने साँझ ६ बजे पक्राउ परेका विशाल ११ गते बिहान छुटेका थिए । अनुसन्धानका क्रममा निर्मला पन्तको हत्या १० साउन दिउँसो २ देखि ३ बजेको समयमा भएको हुन सक्ने खुलेको छ ।
प्रदीपका आमाबुबा दुवै भारतको बैंग्लोरमा रोजगारी गर्दै आएका छन् । स्रोतका अनुसार १० साउनसम्म महेन्द्रनगरमै रहेका प्रदीप ११ साउनमा गड्डाचौकी नाका हुँदै भारतको खटीमा गएका थिए । खटीमामा प्रदीपको मामाघर भएको बताइएको छ ।

भारतमा बसेपछि प्रदीप फेरि महेन्द्रनगर आएपछि उनलाई समातेको हो । २० साउनमा उनलाई तारेखमा छाडिएको हो । त्यसपछि हराएका उनलाई फेरि पक्राउ गरिएको हो । १० साउनमा प्रदीपले साथीहरुसँगै लागूऔषध सेवन गरेका स्थानीयले बताएका छन् ।

घटनामा संलग्न रहेको आशंका गरिएका बम दिदीबहिनीसँग प्रहरीको ठूलै सम्बन्ध छ भन्ने स्थानीयको शंका हालसम्म पनि रहेको छ । बालिका हत्यारा लुकाउन वा बचाउनमा प्रहरी र अन्य कुनै राजनीतिक दलका नेताहरुको पो हात छ कि भन्ने कौतुहलता उस्तै छ । यदि हैन भने अपराधी समाउन प्रहरीका हात किन काप्दै छन् त । प्रहरीमाथि शंंका गर्ने तथ्यहरुले पनि कताकता दोषी पत्ता लाउन सकिन्छ ।

१० साउनमा छोरी हराएकै दिन आमा दुर्गादेवी पन्तले प्रहरी कार्यालयमा आफ्नी छोरीको खोसतलास गर्न अनुरोध गर्दा पनि प्रहरीले निर्मलाकी आमालाई बेवास्ता गर्नु, प्रहरीलाई खबर गर्दा गैरजिम्मेवार जवाफ आउनु, ‘११ बजे हराएकी छोरी यतिबेला खोज्ने ? पोइला गई होली, अब भोलि खोजौंला । अर्को दिन फोटोसहित उजुरी दर्ता गरेपछि खोजौंला’ भन्ने अर्को जवाफ आउनुलाई जनताले कसरी बुझ्ने ? प्रहरीलाई खबर हुँदा पनि निर्मला हराएको रोशनी बमको घरमा नजानु ? ११ साउनमा पनि निर्मलाकी आमा दुर्गादेवी पन्तलाई रोशनी बमको घर पस्न नदिनु र छानबिन गर्न गएका भनिएका सादा पोसाकका प्रहरी कोठाभित्र नपसी फकर्नु ? ११ साउन बिहान करिब ९ बजे खोलाछेउ उखुबारीमा साइकल भेटिएको खबर सुन्नासाथ बबिता बमले ‘साइकल भेटियो भने शव पनि त्यतै होला’ भन्ने कुरा बबितालाई कसरी थाहा भयो कि निर्मला शव बनिसकी भनेर ? यस्तोमा प्रहरीले उनीहरूमाथि भने कुनै छानबिन किन गरेन ?

रोशनी र बबिताको घर जहाँबाट निर्मला हराइन् किन त्यो घर कहिल्यै प्रहरी अनुसन्धानको घेरामा परेन ? बम परिवारले आफ्नो घर परिसरमा भएको अम्बाको बोट किन काटे ? सईको नेतृत्वमा १२ जना प्रहरीको पहरा बम परिवारलाई किन दिइयो ? निर्मलाको शव भेटिएको स्थान र हराएको दिनभर र राति पनि पानी परिरहेको थियो । तर, भोलिपल्ट निर्मला भिजेको अवस्थामा र उनका किताब सडकछेउ किन सुक्खा अवस्थामा भेटिए ? यही प्रश्नका कारण जनतामा आक्रोश बढेको छ ।