अब जता हेर्यो, त्यता सरकार देखिन्छ :प्रम ओली - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

अब जता हेर्यो, त्यता सरकार देखिन्छ :प्रम ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेहरु अत्तालिएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भ समारोहमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्रीले सरकारको आलोचना गर्नेहरुलाई जनताले जवाफ दिने बताए ।

श्रमजीवि जनताको घर घरमा सरकार भएको बताउँदै प्रधानमन्त्रीले आलोचना गर्नेहरु बिस्तारै अत्तालिने बताएका छन् । प्रधानमन्त्रीले चश्माको पावर नबढाएपनि अब जता हेर्यो, त्यता सरकार देखिने बताए ।

प्रधानमन्त्रीको सम्बोधनका मुख्य अंश

हामी नयाँ प्रकृतिको कार्यक्रममा सरिक भएका छौं ।

सिँगो नेपाली समाजलाई एउटा नयाँ युगतर्फ प्रवेश गराउँदैछौं ।

पाएका बेला खाने, हुँदा खाने, रोजगारीमा रहेका, रोजगारी गुमाएका सबै नागरिकलाई समेटने गरी एउटा नयाँ सामाजिक सुरक्षा प्रणाली आजबाट हामीले सुरु गरेका छौं ।

आज हामी पहिलो सामाजिक सुरक्षा दिवस र योजनाको शुभारम्भको यस सुखद अवसरमा म सबैमा बधाई तथा सुरक्षित भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

मैले अघिल्लोपटक प्रधानमन्त्री हुँदा भनेको थिए– यस सरकारले सबैका लागि सबैको सहभागितामा सामाजिक सुरक्षा लागु गर्छ । आजको यो कार्यक्रम त्यसैको निरन्तरता हो भन्न पाउँदा मलाई खुशी र गर्व लागेको छ ।

हामी आजको यस कार्यक्रममार्फत सबैलाई भन्न चाहन्छौं, हाम्रो राज्य नियनत्रणकारी यन्त्र या संस्था मात्र होइन, आफ्ना नागरिकको अभिभावक पनि हो । यसले सुरक्षित भविष्यको सुनिश्चितता गर्ने काम पनि गर्छ ।

आजको यस दिनसम्म आइपुग्न हामीले धेरै घुम्ती पार गर्यौं । आजभन्दा २५ वर्ष अघि हामीले ०५१ सालमा अल्पमतको सरकारको पालामा जेष्ठ नागरिक सुरक्षा कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षाको नेपालका लागि सर्वदा नयाँ प्रणाली सुरु गरेका थियौं । त्यो एउटा सरकारले एक आर्थिक वर्ष या कार्यकालमा सीमित हुने खालको आर्थिक सहायताको कार्यक्रम थिएन । त्यो एकपटक शुरु भएपछि निरन्तरता पाउने सामाजिक प्रणालीको थालनी थियो ।

त्यसबेला हामीले कनिका छरेको आरोप सहनु पर्यो । ढुकुटी रित्याएको र आर्थिक अनुशासन भंग गरेको आरोप पनि सहनु पर्यो । यस्ता अनावश्यक, निराधार र गलत आरोपबीच हामीले पाका उमेरका अभिभावकहरुलाई मासिक एकसय रुपैयाँ जेष्ठ नागरिक भत्ता, एकल दिदी बहिनीको पीडालाई सम्बोधन गर्न असहाय र विधवा महिला भत्ता थालनी गरेका थियौं ।

सामाजिक सुरक्षाको नयाँ थालनी त्यहाँबाट गरेका थियौं ।

परम्परागतरुपमा हाम्रो समाज सहयोगी र आत्मीय रहँदै आएको छ । कल्याणकारी अवधारणाको समाज, पाहुनलाई अतिथी देवो भव भनेर देवता मान्ने समाज, आफू नओढेर पनि पाहुनालाई दिने हाम्रो आत्मीयताको परिपाटी र सबै मिलेर विपतमा परेकालाई सहयोग गर्ने परम्पराले हाम्रो समाज अघि बढेको छ ।

जनताले आफ्नै पहलमा ढुकुटी, गुठी, पर्म, सेवा समितिमार्फत ऐक्यबद्धता र सहयोग दिने पद्दती पनि समाजमा रहेको छ आधुनिकतासँगै यी भावनाहरु कमजोर देखिने, भत्किने प्रवृत्ति देखा परे । ३,४,५ पुस्तासम्म रहने परिवारहरु ससाना परिवारतर्फ विभक्त हुने र पारिवारिक आत्मीयताको सभ्यता र संस्कृतिको अभ्यास ससाना परिवारतर्फ र साना इकाइतर्फ विभक्त हुँदै जाने प्रवृत्ति आए । पुरानालाई छोडेको र नयाँमा नजोडिएको, अभ्यस्त हुन नसकेको संक्रमणकालिन खाडल जोडन के गर्ने भन्ने बहस भइरहेको थियो ।

राज्य जनताप्रति उत्तरदायी हुनुपर्ने अवधारणा फेरी हामीले सुदृढ गरी ल्याउन आवश्यक थियो । त्यसका लागि यस प्रकारको प्रबन्ध जरुरी थियो । कतिले यसलाई बुझेनन, कतिले यसलाई कम्युनिष्ट सर्वसत्तावादी ठाने, कतिले यसलाई बुझेर पनि बुझ पचाए । दलगत स्वार्थमा चोट पुग्ने ठानेर निन्दा भत्र्सना र भाँडन पनि खोजे ।

अब यसलाई कसैले अस्वीकार गर्न सक्दैन । भत्ता उमेरको हद घटाउने र भत्ता बढाउने नाटकबाजी गर्ने होडबाजी पनि देखियो । आजको यस कार्यक्रम अन्तर्गत २५ वर्ष अघि थालेको कार्यक्रममा नयाँ आयाम दिन चाहन्छौं ।

यो नयाँ प्रणाली लक्षित उमेर समूह या समुदायलाई मात्र होइन सबैलाई हो । यो युवा, वृद्ध, रोजगार या बेरोजगार, आम्दानी भएका नभएका, बच्चा भएका नभएका सबैका लागि हो ।

कोक्रोमा नआउँदैदेखि अन्तिम अवस्थासम्म भन्दै पाखा टेक्नेहरु पनि पछिपछि आए । के कसरी गर्ने भन्ने थाहा नभएका स्वास्थ्य बीमाको तमास देखाउने पनि आए ।

समाजवादान्मुख राज्यलाई दलाल पूँजिवाद पनि भन्न भ्याए । सरकार हरायो कहाँ छ भनेर पनि सोधे । कतिले भने, सरकारले सिन्को पनि भाँचेन । यो सरकार जुम्रा मार्न र सिन्का भाँच्नका लागि हैन । देशमा परिवर्तन ल्याउनका लागि हो, त्यो काम गर्नका लागि हो । म सोध्न चाहन्छु, के अझै सरकार देख्नु भएन ? चश्माको पावर थप्नु पर्दैन, अब सरकार नचाहेर पनि देख्नु हुने छ । मजदूरलाई सोध्नुस सरकार कहाँ छ, दुख नपाएका जनतालाई सोध्नुस सरकार कहाँ छ भनेर ? त्यहाँ जवाफ पाउनु हुन्छ ।

क्ेही दिनमा मेलम्ची आउँछ, त्यसले जवाफ दिन्छ सरकार कहाँ आउँछ ? बाटोमा धुलो उडन कम भएको छ, जवाफ पाउनु भएको होला अलिकति । काठमाडौंका सडक बढारिन्छन सफा हुन्छन अनि थाहा पाउनुहुन्छ सरकार कहाँ छ भनेर ?

व्र्षौंदेखि कलंकी नागढुंगाको कुरा हुन्थ्यो, हेर्न जानुस अहिले त्यहाँ छ सरकार ।

जता घुम्यो त्यता सरकार देख्न थालेपछि अनि चुप लाग्नुहुन्छ ।

सरकार श्रमजीवि जनताका लागि काम गर्न व्यस्त छ । र, त्यसलाई लागु गर्न कटिबद्ध छ ।

भोली यो तामझाम किन भनेर कसैले भन्लान । यो तामझाम देखिन थाहा पाइन भनेर भन्नेलाई देखाउनलाई हो । अब त देख्नुभयो होला नि ? सुनाउन भन्नेहरुलाई सुनाउन हो । हाम्रा योजनाको जानकारी गराउनका लागि हो । तामझामका साथ । अबका कार्यक्रम नौमती बाजाका साथ हुन्छ ।

साथ दिने सहयात्रीसँग खुसी र उत्सव बनाउन यो कार्यक्रम गरिएको छ ।

रोजगारदाता र मजदूर एकै ठाउँमा खुसीयाली मनाइरहेका छन् ।

नेपाली जनता निराश हुनुपर्ने कारण छैन । बिभिन्न कारणले समाज अल्मलिएको र अल्मल्याइएको हो ।

हामीसँग स्थायित्व छ, स्थायित्व सांसदको संख्यामा मात्र होइन, स्थायित्व भिजन र नीतिमा छ । कार्यक्रममा छ । त्यसलाई कार्यान्वयन गर्ने सामर्थमा छ ।