इज्जत -कविता
सेता आँखाका धर्साहरू
रक्तिम आकारमा परिणत नभएका होइनन्
त्यही बेला
नदेखिएका होइन विद्रोहका झिल्काहरू
कलिला आँखाका नानीहरूमा
नमडारिएका होइनन् आवेशका भावहरू
मेरो मस्तिष्क सम्म त्यही बेला
तर मलाइ त भिड्नु थियो
आफ्नै संवेदना सँग
युद्ध गर्नु थियो आफै भित्र उत्पादित भावहरू सँग ।
किनकि
अक्सर अग्रजहरू यही सिकाउनु भयो
नानी चुप लाग्नु पर्छ , अहँ बोल्नुहुँदैन
“इज्जत जान्छ”
आखिर के थियो इज्जत ?
(सायद यसको शाब्दिक अर्थ पनि थाह नहुँदो हो
मलाइ त्यो समय )
जुन शब्दको निम्ति म अन्तराल मौन रहेँ
थाह छैन
कति पटक आत्म विरोधी भएर
आफू भित्रकै आक्रोशका ज्वालाहरू निभाउन
आफै स्वयं पानी बनेँ
थाह छैन
कति पटक आवेशहरू निचोरेर
सहनशीलताको अभिनय गरेँ ,
तापहरू लुकाएर म शीतल देखिए ,
थाह छैन कति पटक
दुखहरू दबाएर मज्जासङ मुस्कुराइरहें ।
चलिरयो यो क्रम
त्यहाँदेखि त्यहाँसम्मको जिन्दगीको एउटा अन्तराल
त्यो अलि पुरानै समय
भो
ऐले यो कुरै नगरौँ कि
म के गरिन ?
आखिर मैले इज्जतको निम्ति के – के गरिन
कक्षाकोठामा गणित पढाउने
(मोटो वजनदार) शिक्षकको डरलाग्दो आवरण ।
उनका आँचलका चेपाइहरूमा
म मौन ,
बिधालयकै एक हुल उशृङ्खल छात्रहरूको
चुल्ठो खिचाइमा म मौन ,
शरीरको खिचातानीमा मौन ,
सनै – शनै गुप्ताङ्गको स्पर्शहरूमा मौन ,
सायद त्यस्तो कुनै स्थान रहेन जहाँ म मौन रहिन ।
मौन अनि मौन
“इज्जतको निम्ति”
बढ्दो उमेर !
थाह छैन कति भए
म माथि क्रमिक ज्यादती गर्नेहरू ,
आँखा झिम्क्याउनेहरू ,
गीत गाउनेहरू ,
कामुक भई इसारा गर्नेहरू ,
बाटो घाटोमा एकान्तमा ढुक्नेहरू ,
पछ्यौरी तान्नेहरू,
खुट्टा अल्झाइ भुँइमा लडाउनेहरू ,
थाह छैन कति भए
स्तनको उचाइमा ठोक्किनेहरू ।
र पनि मौनता , मौनता मात्र मौनता
“इज्जतको निम्ति”
अति भयो र लाग्यो सायद ज्यादती भयो
पटक पटकको हिर्काइले
पत्थर नफुट्ने कुरै थिएन ,
पटक पटकको दमनले
विस्फोट नहुनु अलौकिक थियो ।
स्वाभाविक रूपमा
कुनै साँघुरो भाँडोमा जबरजस्ती दबाइएको बस्तु जस्तै
छताछुल्ल पोखिदैछु म यति बेला
यी शब्दहरूमा अभिव्यक्त हुँदै ,
खुला रूपमा प्रस्तुत गर्दै
आफ्नै करुणाका बखानहरू ,
राखिरहेछु
आफू माथि भएको अन्यायको सम्पूर्ण दास्तान ।
प्रिय पाठकहरू !
मलाइ यो थाह छैन कि ,
म इज्जत जोगाएँ या इज्जत फालेँ ?
इज्जत फालिरहेछु या जोगाइरहेछु ?
र मलाइ यसको प्रवाह पनि छैन अब
कि मलाई इज्जत जोगाउनु छ या फाल्नुछ ।
तर यो भने अवश्य थाह छ
यो ब्यक्तताले
लामो मौनताको क्रमभंगताले
यदि इज्जत फालेँ भने
इज्जत राखेर भन्दा फालेर
यो बचाइ म सार्थक बाँचिरहेछु
यति बेला ।।
– सुमिना अभिलाषी
रुपन्देही बुटवल
तपाइँ पनि आफ्ना लेख/रचना हिमाल पोस्टमा प्रकाशन गर्न चाहानुहुन्छ भने हामीलाई सिधै [email protected] पठाउन सक्नु हुनेछ ।