निर्मला हत्याकाण्ड : धर्नामा बसेका निर्मला पन्तको बुवाआमाको स्वास्थ अवस्था बिग्रदै
कञ्चनपुर । छोरीको हत्यारा सार्वजनिकको माग राख्दै पाँच दिनदेखि अनिश्चितकालिन धर्नामा बसेका निर्मला पन्तका आमाबाबुको स्वास्थ्य नाजुक बन्दै गए पनि सरकारले अहिलेसम्म कुनै वास्ता गरेको छैन ।
बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको टोलीले धर्ना स्थलमै निर्मलाका बाबु यज्ञराज, आमा दुर्गा र कान्छि आमा लक्ष्मीको प्रारम्भिक स्वास्थ्य परीक्षण गरेका थिए । स्वास्थ्य परीक्षणमा तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको देखिएको छ ।
महाकाली अञ्चल अस्पतालका डा. किशोर बोहराले यज्ञराजको ब्लडप्रेसर कम हुँदै गएको बताए । खाना कम खाने भएकाले उनको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको डा. बोहराले बताए । ‘यज्ञराजको घाँटीमा समेत समस्या देखिएको छ, ‘डा. बोहराले भने, ‘फिचर कम छ, विभिन्न टेष्टका लागि रगत लिइएको छ ।’ ल्याब रिर्पोट आएपछि उनलाई थप उपचारका लागि अस्पतालमै लैजाने वा धर्ना स्थलमै उपचार गर्नेबारे पछि मात्रै थाहा हुने डा. बोहराले बताए ।
डा. बोहराका अनुसार, ‘उनकी आमाको ब्लड प्रेसर कम र कान्छि आमाको बढि भएको देखिएको छ ।’ खाना कम खाने, चिसोमा अनसन बस्ने र कम सुत्ने गरेका कारण तीनै जनाको स्वास्थ्य अवस्था बिग्रिँदै गएको चिकित्सकको भनाई छ ।’ – नागरिक आवाजबाट