सञ्चय कोषले ११ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्ने - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

सञ्चय कोषले ११ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गर्ने



काठमाडौं । कर्मचारी सञ्चय कोषले ६ लाखभन्दा बढी सञ्चयकर्तालाई ११ लाखसम्मको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ।यसका लागि कोषले प्रतिव्यक्ति चार सय २० रुपैयाँका दरले बिमा कम्पनीलाई प्रिमियम शुल्क बुझाउने छ । कोषले सबै सञ्चयकर्ताबाट वार्षिक २५ करोड २० लाख रुपैयाँ प्रिमियम तिर्नेछ।यो रकम मूल्य अभिवृद्धि कर बाहेकको हो।यसमा सबै सञ्चयकर्ताले सुविधा पाउने कोषले जनाएको छ । अन्ननपूर्ण पोस्टमा खबर छ ।

पहिलोपटक व्यवसायिक कम्पनीले वार्षिक चार सय २० रुपैयाँ प्रिमियम शुल्क लिएर ११ लाख रुपैयाँसम्मको स्वास्थ्य बिमा सुविधा दिन लागेको हो।सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रममा प्रतिव्यक्ति चार सय २५ रुपैयाँ लिएर ५० हजारसम्मको सुविधा दिने व्यवस्था छ।उक्त व्यवस्थामा परिवारका पाँच सदस्यले सेवा पाउने छन् । सरकारी बिमा कार्यक्रममा सहभागी हुन पाँच सदस्य भएको परिवारले वार्षिक दुई हजार पाँच सय रुपैयाँ प्रिमियम शुल्क बुझाउनु पर्नेछ।सञ्चयकोषले भने बिना प्रिमियम ११ लाखसम्मको निःशुल्क बिमा सुविधा दिने भएको हो ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत कार्यान्वयनमा ल्याइएको यस योजनाबाट सरकारले पहिचान गरेका क्यान्सर, मिर्गौला फेल, हृदयघात, प्यारालाइसिसलगायतका नौ वटा घातक रोग लागेमा १० लाख र सामान्य रोगका लागि एक लाख रुपैयाँको बिमा सुविधा पाइने कोषका प्रशासक तुलसीप्रसाद गौतमले जानकारी दिए । ‘कोषले आम्दानी गरेको मुनाफाबाट प्रति सञ्चयकर्ता चार सय २० रुपैयाँका दरले वार्षिक प्रिमियम शुल्क बुझाएर सञ्चयकर्तालाई यो सुविधा दिन लागिएको हो’, उनले भने ‘सञ्चयकर्ताले ३ वर्षसम्म यो सुविधा पाउने छन् ।’