मुक्त कमैया शिविरका ६२ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण

गोविन्द बीसी / बौनिया,कैैैलाली ।
कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १, लम्की स्थित एकतानगर मुक्त कमैया शिविरका बालबालिकाहरुलाई आज शैक्षिक सामग्री वितरण गरिएको छ ।
मुक्त कमैया शिविरमा रहेको नमूना अध्ययन गृहमा अध्ययन गरिरहेका ६२ जना बालबालिकालाई एक कार्यक्रममा बीच शैक्षिक सामग्री बितरण गरिएको हो । बालबालिका चिसोबाट बच्न न्यानो लुगा समेत वितरण गरिएको कार्यक्रम संयोजक लक्ष्मण बजगाईले जानकारी दिए ।
“कैलालीका लागि नेपाली” भन्ने मुल नारा सहित शिक्षामा सहयोगार्थ टीम हेप्पी फेमिली संस्थाको सहयोगमा उक्त शैक्षिक सामग्री वितरण गरिएको हो । वितरण गरिएको सामाग्रीमा प्रत्येक बालबालिकालाई एक थान झोला, एक जोडा न्यानो लुगा तथा खेलकुदका सामग्री रहेको छ ।
सामाजिक अभियन्ता तथा शैक्षिक सामग्री वितरण कार्यक्रमका संयोजक लक्ष्मण बजगाईको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि समाजसेवी तथा राजनीतिज्ञ रंगनाथ ढकाल रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि ढकालले युवाहरुको अभियानले संकलन गरेको सहयोग बालबालिकाहरुका लागि ठूलो राहत मिल्ने भन्दै बिदेशीहरुको आश नपरी एक नेपालीले अर्को नेपालीलाई यसरी सहयोग गरे सबै बालबालिका शिक्षाको पहुँचमा ल्याउन सकिने बताए ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटी लम्की उपशाखाका सभापति एवम् नगर बाल अधिकार संरक्षण तथा सम्बर्द्धन समिति लम्कीचुहाका सचिव रंगप्रसाद तिमिल्सैनाले बालबालिकाहरुलाई भविष्यको कर्णधार बनाउने हो भने उनीहरूले पाउनुपर्ने आधारभूत अधिकारको सुनिश्चित गर्नुपर्ने र बालबालिकालाई अधिकारबाट बन्चित गर्न नहुनेमा जोड दिए ।
कार्यक्रममा सामर्थ्य नेपालका संयोजक अर्जुन भुषाल, टीम हेप्पी फेमिलीका अध्यक्ष प्रतिभा खड्का, फौजी अधिकारी, कलाकार रत्नकमल बिष्ट , सिर्जनशील नेपाल लम्कीका उपाध्यक्ष प्रकाश बिष्ट लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन सिर्जनशिल नेपाल लम्कीका अध्यक्ष जनक सुनारले गरेका थिए । अध्ययन केन्द्रमा हाल मुक्त कमैया परिवारका करिब ६५ जना बालबालिका अध्ययनरत छन् । सिर्जनशिल नेपाल लम्कीको पहलमा केन्द्रको भवन निर्माणका लागि समेत सहयोग संकलन भइरहेको बताइएको छ ।

