देउवाको पद चङ्गा चैट् भने जस्तो हुदैछ - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

देउवाको पद चङ्गा चैट् भने जस्तो हुदैछ



काठमाडौँ । कांग्रेसमा सभापति शेरबहादुर देउवाविरुद्धमा शक्ति संघर्ष शुरु भएको छ। उनी स्वेच्छाचारी शैलीमा चेलेको ठान्दै सच्याउन दबाब दिन निरन्तर बैठक राखिएको छ। पछिल्लोपल्ट सोमबार विहान सुजाता कोइराला निवासमा भएको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शसांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता डा. रामशरण महतलगायत जुटे। तिनले नेतृत्वका कार्यशैलीको कडा आलोचना गरेका हुन् । अन्नपूर्ण पोस्टमा खबर छ ।

सभापति देउवा विधान र प्रक्रिया मिची अघि बढेको जिकीरसहति संयुक्त आवाज उठाउने तयारीमा उनीहरु लागेका छन्। तिनले महामन्त्री शसांक कोइरालाई यसमा दरिलो रुपले प्रस्तुत हुन सुझाएका छन्। केन्द्रीय सदस्य शेखर कोइरालाले दल पूरै कमजोर हुँदासमेत नेतृत्वले वास्ता नगरी आफ्नै ढंगले अघि बढेकाले चनाखो राख्न बहस आरम्भ गरिएको बताए। उनले बैठकमा भावि नेतृत्वबारे छलफलसमेत गरेको जानकारी दिए। ‘नेतृत्वले बहुमतका आधारमा गरिरहेका निर्णय, महासमिति बैठक, नेविसंघ विवादलगायत विषयमा पनि चर्चा गरियो’, उनले अन्नपूर्ण पोस्टसँग भने।

स्रोतका अनुसार बैठकमा विजयकुमार गच्छदारलाई उपसभापति बनाउँदा देउवाले पार्टी विधान मिचेको धारणा आएको थियो। उनीहरूले दल कमजोर भएको र त्यसको कारक सभापति भएकामा दुईमत नहुने विश्लेषण गरेका थिए। गत निर्वाचनपछि सभापति देउवाविरुद्ध आक्रामक बन्दै आएका नेता सिँहले कांग्रेसलाई बलियो र दलभित्र पनि लोकतान्त्रिक बनाउन आवश्यक रहेको बताएको स्रोतले जनायो।

उक्त लन्च बैठकमा सिटौला सहभागि हुने भनेपनि काठमाडौं बाहिर भएकाले सम्भव भएन। त्यस अवसरमा नेता अर्जुन नरसिंह केसीले देउवाले विधान र प्रक्रिया मिचेको मात्र नभई गुटगत राजनीति गरेको आरोप लगाए। यसमा मुख्य उदाहरणका रूपमा गच्छदारको नियुक्तिलाई प्रस्तुत गरेका थिए। दलभित्र गच्छदारलाई उपसभापति बनाउने बिषयमा कुनै विवाद नभएपनि प्रक्रिया पूरा गरेर जानुपर्ने उनको सुझाव थियो

सहभागीहरूले सभापतिलाई मनलागी गर्न महामन्त्रीलगायत पदाधिकारीले रोक्न नसकेको उनीहरुको आरोप थियो। उनीहरूले महामन्त्री कोइरालालाई खुट्टा नकमाउन सुझाए। तीन कोइरालाई एक स्थानमा राखेर छलफल गर्ने वातावरण मिलाउन छलफलका लागि सुजाता निवास छानिएको एक नेताले बताए।पार्टीलाई सुदृढ बनाउन सामूहिक रुपमा अघि बढ्नुको विकल्प नभएको र त्यसैका लागि खुला छलफल गरी अघि बढेको डा. शेखरले बताए। ‘दलको समस्याबारे छलफल गरौ भनेर जम्मा भएका हौं’, उनले भने।

बैठक समन्वय गरेकी नेतृ कोइरालाले नेतृत्वले कांग्रेसलाई कमजोर र खोक्रो बनाइसकेको आरोप लगाइन्। उनले पार्टी सवल बनाउन सबै एक भएर अघि बढ्न पर्नेमा जोड दिएकी थिइन्। मुलुक नै जरजर अवस्थामा पुगिसकेकाले कांग्रेस सचेत भएर अघि बढ्नुपर्ने नेता डा. रामशरण महतको धारणा थियो। बरिष्ठ नेता पौडेलले अव यस्ता छलफल निरन्तर राखेर दलको कमजोरी सम्वोधन गरी अघि बढ्न आवश्यक भएको बताए। यसअघि पनि यस्ता बैठक एक पटक महामन्त्री डा. शसांककोमा भइसकेको थियो। त्यहाँ पनि उनले सबैको कुरा सुने तर आफू बोलेनन्।

देउवा निकट नेता ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो छलफल लोकतान्त्रिक दलमा हुनुलाई सामान्य रुपमा लिनुपर्ने बताए। ‘नेतृत्वलाई सुझाव दिने ढंगले यस्तो छलफल भएको होला’, उनले भने, ‘लोकतान्त्रिक दलमा यसखालको बहस हुनुलाई स्वभाविक मानिन्छ। बहस हुनुपर्छ। आफ्ना कुरा नेतृत्वसँग राख्ने नै हो। गल्ति भए सुधार गर्दै अघि बढ्ने हो।’ अर्का नेता प्रकाशशरण महतले पनि पार्टी भावानात्मक रुपमा एक ढिक्का रहेको र यसमा नेतृत्वले बिधान अनुरुप नै निर्णय लिएको दाबी गरे। ‘बाहिर छलफल गर्र्नुलाई अन्यथा लिन मिल्दैन। तर नेतृत्वबारे अर्नगल हल्ला सुहाउदैन,’ उनले भने ।