हत्यारा पत्ता लगाउन माग गर्दै आजदेखि अनिश्चितकालिन धर्नामा निर्मलाका बुवाआमा - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

हत्यारा पत्ता लगाउन माग गर्दै आजदेखि अनिश्चितकालिन धर्नामा निर्मलाका बुवाआमा



कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार आइतबारदेखि अनिश्चितकालीन धर्ना बस्ने भएका छन् । निर्मलाका बुवा र आमाले तिहारअघि नै पत्रकार सम्मेलन गरी घोषणा गरेको कार्यक्रमअनुसार धर्ना बस्ने भएका आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

साढे तीन महिनासम्म पनि अपराधी पत्ता नलागेपछि अन्तिम अवस्थामा धर्ना बस्नुपरेको निर्मलाका बुवा यज्ञराजले बताए । कहीँ गएर पनि न्याय नपाएपछि परिवार अनिश्चितकालीन धर्ना बस्ने निर्णय लिएको उनले बताए । ‘न्याय नपाउँदासम्म धर्नामा बसिरहन्छु,’ शनिबार महेन्द्रनगरको खुलामञ्चमा महिला अधिकारकर्मी र स्थानीयसँगको छलफलमा उनले भने, ‘छोरीका हत्यारा पत्ता लगाउनका लागि दबाब दिन जे पनि गर्न तयार छु ।’

आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बस्ने कार्यक्रम तय गरिएको पन्तले बताए । महेन्द्रनगरको मदनचोकमा भेला भई र्‍यालीसहित बजार परिक्रमा गरी प्रशासनको गेटमै धर्ना बस्ने कार्यक्रम छ । ‘अब वार या पारको आन्दोलन गर्नुपर्ने अवस्था आयो,’ छलफलमा महिला अधिकारकर्मी शारदा चन्दले भनिन्, ‘हत्यारा पत्ता लगाउन स्थानीयस्तरदेखि केन्द्रसम्म दबाब दिन आवश्यक छ ।’ उच्चस्तरीय छानबिन समितिले छानबिन गर्न भनेका व्यक्तिहरूलाई समेत अनुसन्धानको दायरामा नल्याएकाले अझै पनि प्रहरीको अनुसन्धान सही गतिमा जान नसकेको उनले बताइन् ।

निर्मला घटनाको अनुसन्धानमा त्रुटि गरेको भन्दै तत्कालीन एसपी दिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्त गरिएका छन् । तर अनुसन्धानमा प्रमाण मेटाउनेलाई विभागीय कारबाही गरेर मात्रै नहुने अधिकारकर्मीहरू बताउँछन् । ‘उनीहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउनुपर्छ,’ महिला अधिकारकर्मीले भने, ‘सरकारलाई यसका लागि पनि दबाब दिनुपर्ने भएको छ ।’